मिश्राकाे सपथ होल्ड, सिन्हाको रोकिने सम्भावना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्य तथा जनसंख्या र सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने गरी हिजो नाम सिफारिस गरेकी थिइन् । मन्त्रीका लागि प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र अतिरिक्त सचिव डा. संगीता मिश्राको शपथ रोकिने सम्भावना बढेको छ ।तर, दुवैको नाममा प्रश्न उठेपछि उनीहरूको शपथ रोकिने सम्भावना बढेको हो ।
मिश्राले सचिव बढुवामा आफूलाई सरकारले हेपेको भन्दै मिश्राले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सरकारविरुद्ध सार्वजनिक टिप्पणी गरेकी थिइन् । उक्त टिप्पणीसँगै उनी लामो समयदेखि बिदामा बसेकी थिइन् । सचिवका लागि विकास देवकोटाभन्दा आफू वरिष्ठ रहेको दाबी गर्दै आएकी थिइन् । त्यस्तै, उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार आरोपसहित उजुरी परेको पनि खुलेको छ ।
आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, उनी विवादित पात्र भएको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यो विवाद बाहिरिएपछि मिश्राको नाम मन्त्रीको सूचीबाट हटाउने तयारी भएको स्रोतले जनाएको छ ।
त्यस्तै, सिन्हलाई मन्त्री बन्न कानुनी प्रावधान बाधक बनेपछि शपथ रोकिने सम्भावना बढेको छ । उनको सिफारिसमाथि प्रश्न उठेको छ । संविधानको धारा १३२ को उपधारा २ मा उल्लेखित प्रावधानलाई लिएर उनीमाथि प्रश्न उठेको हो ।
‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीश भइसकेका व्यक्तिलाई संविधानमा उल्लेख भएबाहेक कुनै पनि सरकारी पदमा ग्राह्य हुने छैन’ भन्ने प्रावधान रहेको छ ।