जेनजी आन्दोलन हाइज्याक भयो भन्दै, छठपछि हिन्दु राष्ट्र पुनस्थापनाका लागि प्रसाईँले आन्दोलन गर्ने

काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनले वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा पत्रकार सम्मेलन गरेका छन् । मङ्गलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गरे । प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको उल्लेख गरे । तर आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको बताए ।
जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । ’आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क प¥यौँ ।’ उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत जिकिर गरे ।
तर प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै अहिले धर्म कमजोर भएको टिप्पणी गरे । उनले भने, ’यो भगवान्हरूले बास गरेको ठाउँ हो, भगवान् रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ ।’
उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’
‘हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’
उनले कोठाभित्र बसेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नलेख्ने बताउँदै भने,’आन्दोलनको नेतृत्व हामी लिन्छौँ । देशमा २०४७ सालको संविधान पुनस्र्थापनाका लागि लड्छौँ ।’
उनले आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको बताए । प्रसाईँले भने, ’हामीले अभियान सुरु गर्दा ब्याजदर १८ प्रतिशत थियो, अहिले ७ प्रतिशतमा झरेको छ । लघुवित्त पीडितहरू भागाभाग गर्ने अवस्था अन्त्य भएको छ ।’
प्रसाईँले महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।