Close

Recent Posts

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • ८ आश्विन २०८२, बुधबार ०५:३०

काठमाडौं । आज नवरात्रको तेस्रो दिन देशभरका दसैँ घर र शक्तिपीठहरूमा नवदुर्गामध्येकी तेस्रो रूप चन्द्रघण्टा देवीको विशेष पूजाआराधना गरि मनाइन्छ ।

mulpatra

धर्मशास्त्रअनुसार देवी चन्द्रघण्टाको मस्तकमा अर्धचन्द्रसहित घण्ट रहेको भएकाले उहाँलाई ‘चन्द्रघण्टा’ भन्ने नामकरण गरिएको हो । मार्कण्डेय पुराणमा समेत “चन्द्रः घण्टायां यस्याः सा” भनेर उल्लेख गरिएको पाइन्छ ।

धर्मशास्त्रका अनुसार चन्द्रघण्टा देवी शान्त, करुणामयी र पहेँलो वर्णकी रूपमा वर्णन गरिएको छ । अत्याचारी र दानवीय शक्तिको नाश गर्ने देवीका रूपमा चन्द्रघण्टाको पूजा गरिन्छ । विशेषगरी सङ्गीत र कला क्षेत्रमा लागेकाले उहाँको आराधना गर्ने चलन छ ।

चन्द्रघण्टाको कृपा प्राप्त भए समग्र पाप नाश हुने तथा साधकलाई ललाटमा तेज, जीवनमा शक्ति र ऐश्वर्य प्रदान हुने विश्वास छ । यस दिन पूजामा मणिपुर चक्रलाई ध्यान गर्ने परम्परा पनि रहेको बताइन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापनापछि क्रमशः पहिलो देवी शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजाआराधना गर्ने विधि छ ।

नवरात्रको साधना र पूजाआराधनाबाट शक्ति, विद्या र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । यही परम्परा अनुरूप आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिनसम्म नवदुर्गाको विशेष आराधना गरिन्छ । विजयादशमी र कोजाग्रत पूर्णिमासम्म जमरा र प्रसाद ग्रहण गरी बडादशैं पर्व मनाइन्छ ।