घरमा पैसा राख्न थालेपछि बैंकमा थुप्रिन थाल्यो ढुसी आएका नोट

काठमाडौँ– पछिल्लो समय जेनजीले गरेको आन्दोलनका दौरान केही राजनीतिक दलका नेताहरुको घरमा नगद पैसा जलेको घटनापछि मानिसहरु घरभित्र पैसा थुपार्न आत्तिएजस्तो देखिएको एक बैंकरले बताएका छन् ।
बैंकबाट नगद निकाल्ने व्यक्तिहरुले पनि आफूलाई बैंकले ढुसी परेका नोट दिएको भन्दै रोष व्यक्त गरेका छन् । ‘पोहोर परार त दशैँको बेला नोट साट्दा दाह्री काट्न मिल्ने कटकटे नोट पाइन्थ्यो । अहिले त समात्दा पनि च्यातिएलाजस्तो, ढुसी गह्नाउने नोट दिइरहेको रहेछ’, काठमाडौँको पुतलीसडकमा बैंकबाट नगद निकालेर आएका एक व्यक्तिले भने ।
नेपाल बैंकर्स संघले प्रकाशन गर्ने तथ्यांकका आधारमा गत भदौका पछिल्ला दुई हप्तामा ब्यापक मात्रामा निक्षेप थुप्रिएको देखिन्छ । भदौको सुरुआति दुई हप्तामा ११ अर्ब हाराहारीमात्रै निक्षेप बढेको वाणिज्य बैंकहरुमा भदौ अन्तिमका दुई साताभित्र ६३ अर्ब २२ करोड निक्षेप थपिएको छ ।
बैंकहरुमा अहिले ढुसी गह्नाउने नोटहरु धमाधम निक्षेपको रुपमा भित्रिरहेको बैंकरले बताएका छन् । एक हजार र पाँच सय दरका त्यस्ता नोटहरु बैंकमा ठूलो मात्रामा जम्मा भएका छन् । यस्ता नोट नियोजित रुपमै लामो समय कुनै चिसो ठाउँमा भण्डारण गरेर बैंकमा ल्याएजस्तो देखिन्छ ।
दशैँको बेलामा ठूलो मात्रामा खाताबाट पैसा झिक्ने गरिन्छ । तै पनि बैंकबाहिर थुप्रिने पैसाको मात्रा अघिल्ला वर्षको अनुपातमा आधामात्रै बढेको देखिन्छ ।
त्यस्तो पैसा कतिपय आन्दोलनकारीले लुटेको हुनसक्ने र उनीहरुले नै थोरैथोरै गरेर बैंकमा जम्मा गरेको हुनसक्ने आँकलनहरु भइरहँदा केही बैंकरले भने ठूलो मात्रामै निक्षेप संकलन भइरहेको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा माओबादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापती शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्का लगायतको घरमा प्रवेश गरेका आन्दोलनकारीले ठूलो मात्रामा नगद भेट्टाएको र त्यसमध्ये कतिपय पैसा जलेको भनेर सामाजिक सञ्जालहरुमा भिडियो सामग्री छ्यापछ्याप्ती भएको छ ।
कतिपयले आन्दोलनका क्रममा केही भाग जलेका नोटहरु समेत बैंकमा जम्मा गर्न ल्याउन थालेपछि उक्त नोटहरु चोरीको भएको हुनसक्ने भन्दै बैंकहरुले निक्षेप स्वीकार नगर्ने भएका छन् । देशैभरी कयौँ साना–ठूला नेताको घर जलेको र त्यसमा कति पैसा जल्यो भन्ने कुनै आँकडा नभएका कारण पनि बैंकहरुलाई निक्र्योल गर्न कठीनाई भइरहेको छ ।
आन्दोलन सुरु भएको अघिल्लो दिन २२ भदौमा चलनचल्तिमा रहेको मुद्रा ७ खर्ब ३९ अर्ब हाराहारी थियो । भदौ ३० सम्म आउँदा त्यो रकम ५ अर्बजति मात्रै बढेर ७ खर्ब ४४ अर्ब पुग्यो । दशैँ लागिसकेपछि अर्थात् घटस्थपनाको दिनसम्ममा अर्को १७ अर्ब बढेर ७ खर्ब ६१ अर्ब पुगेको छ ।
जबकी अघिल्लो वर्ष घटस्थपना अघिको एक हप्तामा मात्रै यस्तो चलनचल्तिमा जाने मुद्रा ३० अर्ब २४ करोडभन्दा धेरै अन्तरले बढेको थियो । यसले पनि मानिसहरुले बैंक तथा वित्तीय संस्थामा पैसा थुपार्ने क्रम बढेको देखाउँछ ।