Close

Recent Posts

मतदाता नामावली संकलन: जेन–जीहरूलाई डेढ महिनाको अवसर

मतदाता नामावली संकलन: जेन–जीहरूलाई डेढ महिनाको अवसर
  • ९ आश्विन २०८२, बिहीबार ०७:१५

काठमाडौं– नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् । सामान्यतः मतदानको १२० दिन अर्थात चार महिना अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ ।

mulpatra

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अध्यादेशले मतदाता नामावली संकलन र त्यसको अधिकतम (कट अफ) मिति तोक्ने अधिकार आयोगलाई दिनेगरी अध्यादेश जारी भएको बताए ।

गत असारसम्म संकलित विवरण अनुसार, कुल मतदाता १ करोड ८१ लाख जति पुगेको आयोगका प्रवक्ता भट्टराईले बताए । उनले भने, ‘अबको करिब डेढ महिनामा अरू मतदाता थपिनेछन् ।’

आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी १६ असार २०८२ देखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम बन्द गरेको थियो । तर दुई वर्षपछि मात्रै निर्वाचन हुने भएकाले त्यतिबेला १८ वर्ष पुगेकाहरूलाई मतदाताको नाम दर्ता गर्ने रुचि थिएन ।

पाँच वर्षअघिको जनगणनाबाट नेपालको जनसंख्या २ करोड ९१ लाख थियो । जनगणनाको विवरण अनुसार, १८ वर्षमाथिको जनसंख्या करिब २ करोड १० लाख हुन आउँछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेकाले अब केहीबेरमा राजपत्रमा त्यसको सूचना प्रकाशित गर्ने तयारी छ । त्यसलगत्तै निर्वाचन आयोगले मतदाना नामावली संकलनसम्बन्धी सूचना निकाल्नेछ ।

१८ वर्ष पुगेका र नागरिकताको प्रमाणपत्र बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउनेछन् । यसअघि मतदाता नामावलीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेबारे नीतिगत तहमा छलफल भएपनि २१ फागुनको निर्वाचनमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नसक्ने अवस्था देखिँदैन ।