Close

Recent Posts

जेन–जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न कोष

जेन–जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न कोष
  • ९ आश्विन २०८२, बिहीबार २०:१०

काठमाडौं– सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । गत २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले कोष बनाएको हो ।

mulpatra

त्यस्तो कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गर्न सक्नेछन् । अर्थमन्त्री रामेश्वर खनालले पूर्वाधार पुनर्निर्माण का लागि सरकारलाई स्रोतको अभाव नरहेको बताए ।

उनले स्रोत अभाव नभएपनि विदेशमा भएका नेपालीले पुनर्निर्माणमा सहभागिता जनाउन चाहेकाले कोष बनाइएको बताए ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले भने, ‘पुनर्निर्माण गर्नका लागि स्रोत पर्खेर बसेका छैनौं । तपाईहरुले पनि देख्न सक्नुहुन्छ, अर्थमन्त्रालय,भौतिक मन्त्रालय नै रंगरोगन गर्ने काम चलिरहेको छ । त्यस्तै, तुरुन्त बनाउनुपर्ने प्रहरी भवनको निर्माण अघि बढाउन हामीले भनेका छौं ।’

‘सम्बन्धित मन्त्रालयले आफ्नै स्रोतबाट पनि भवन बनाउन सक्छन् भने नयाँ सरकारले भ्रष्टाचार अन्त्य गरोस् र पुनर्निर्माणमा हामी पनि सहभागी बन्छौं भनेर विदेशमा बसेका नेपालीले भनेकाले पुनर्निर्माण कोष बनाएका हौं । यही कोषबाट पनि पुनर्निर्माणमा रकम खर्चिनेछ’ उनले बताए ।