Close

Recent Posts

दशैंमा घुम्न जाने सोच छ रु यी ठाउँहरू तपाईंका लागि उपयुक्त हुन सक्छन्

दशैंमा घुम्न जाने सोच छ रु यी ठाउँहरू तपाईंका लागि उपयुक्त हुन सक्छन्
  • १२ आश्विन २०८२, आईतवार ०७:३०

काठमाडौं– विजया दशमी तथा तिहारमा देश तथा विदेशमा रहेका अधिकांश नेपालीहरू घरघरमा पुगेका हुन्छन् । आफ्नो काम गरिरहेको ठाउँमा बिदा लिन्छन् । तर, सबै मानिसको दसैं टीका नै हुन्छ भन्ने हुँदेन ।

mulpatra

कसैले दसैं मनाउँदैनन् भने कसैको कुनै वर्ष दसैं हुँदैनन् । यस्तो बेला धेरैले घुम्ने ठाउँको खोजी गरिरहेका हुन्छन् । पछिल्लो समय चाडपर्वको अवसर पारेर देशभित्रकै विभिन्न नयाँ–नयाँ स्थानहरुमा घुम्ने प्रचलन बढिरहेको हो ।

घुम्ने प्रचलन बढेसँगै नयाँ–नयाँ प्राकृतिक र सांस्कृतिक गन्तब्यहरुको पहिचान समेत बढ्दो छ । विविध सास्कृतिक र प्राकृतिक दृष्टिकोण पर्यटकीय रुपमा धनी नेपालसँग धेरै रमणीय स्थानहरु छन् । साहसीक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङसँगै विविध संस्कृतिको धनी नेपालमा गन्तब्यहरु धेरै छन् । यसमध्ये केही केही गन्तब्यबारे लेखेका छौं ।

मुक्तिनाथ

मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ एक उत्कृष्ट धार्मिक तथा प्राकृतिक गन्तब्यको रुपमा लिइन्छ । समुन्द्रि सहतबाट ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तिर्थ समेत मानिन्छ । मन्दिर दर्शन पछि मन्दिर हाताको १ सय ८ धारामा नुहाए पाप पखालिने जनविश्वास छ ।

मुक्तिनाथ हातामा नरसिंह गुम्बा, ज्वालामाई मन्दिरका साथमा शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका ठूल–ठूला मूर्ति छन् । मन्दिर मुन्तिर रानीपौवा बजारमा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् ।

काठमाडौंबाट मुक्तिनाथको यात्रामा निस्किँदा सबैभन्दा पहिला बेनी पुग्नुपर्छ । बेनी पुग्न काठमडौंबाट २ सय ८२ किलोमिटर छ । त्यसपछि बेनी–जोमसोम ७५ किलोमिटर छ । यद्यपि पोखरा गएर जोमसोमबाट हवाइयात्रा गरे उडान १८ मिनेट मात्रै छ । त्यसपछि जोमसोम–मुक्तिनाथ २२ किलोमिटर मात्रै छ ।

जोमसोमबाट दक्षिण दुई किलोमिटर दुरीको ठिनी गाउँमा एक रात बिताउन सकिन्छ । जोमसोम–मुक्तिनाथ जीप र बसहरु चल्छन् । ठिनीसम्मै जिप र मोटरसाइकल पुग्छन् ।

खप्तड

सुदूरपश्चिमको आध्यात्मिक भुगोल मानिने खप्तडलाई धर्तीको स्वर्गको रुपमा चिनिन थालेको छ । स्कन्द पुराणमा खेचराद्री भनिएको खप्तड हुँदै युधिष्ठिर स्वर्ग गएको विश्वास रहिरहेको र खप्तड बाबा आधा शताब्दीसम्म खप्तडमा बसेको आध्यात्मिक इतिहास छ ।खप्तडमा त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक मन्दिर छन् । खप्तड समुन्द्री सतहबाट ३ हजार २ सय ७६ मिटर उचाइमा छ । त्यहाँ २२ वटा पाटन छन् । थरिथरिका चरा, वनस्पति र जडीबुटी पाइन्छ । सरकारले ०४३ असार ९ गते घोषणा गरेको २ सय २५ वर्ग किलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुरा, डोटी, बझाङ र अछाममा पर्छ ।

काठमाडौं–धनगढी पुग्न पूर्व पश्चिम राजमार्ग हुँदै जाँदा ६ सय ६२ किलोमिटर छ । यद्यपि कठमाडौंबाट धनगढी पुग्न हवाइमार्ग प्रयोग गरे ५५ मिनेटमा पुग्न सकिन्छ । धनगढी–सिलगढी २ सय किमि। बसमा आठ घन्टा अथवा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा। डोटी सदरमुकाम सिलगढीबाट हिँडेर जाँदा झिग्रानाममा एक रात बसेपछि भोलीपल्ट ८ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ ।

राराताल

बिदा मनाउन उत्कृष्ट गन्तव्य खोजिरहेकाहरुका लागि मुगुको रारालाई राम्रो विकल्प हुन सक्छ । धर्तीको स्वर्ग पनि भनिने रारा पुग्दा जोकोहीको पनि प्रकृतिक मनोरममा भुल्न सक्छ ।

रारा जान सुर्खेतबाट २ दिनमा सजिलै सडक यात्राबाट रारा पुग्न सकिन्छ । कर्णालीको राजधानी सुर्खेतबाट हवाई यात्रामा गए त्यही दिन नै राराको अवलोकन गर्न पाइन्छ ।

राराका लागि कम्तिमा सुर्खेतदेखि रारासम्मका लागि कम्तीमा ६ दिनको समय लाग्छ । सुर्खेतबाट हिँडेको पहिलो दिन दैलेखको रानीमत्ता हुँदै राकम कर्णाली भएर कालिकोटको नाग्मसम्म सहजै पुग्न सकिन्छ । नाग्मबाट ९३ किलोमिटरको यात्रा तय गरेपछि रारात पुग्न सकिन्छ ।

खस राज्यको राजधानीको रूपमा रहेको, विराट राजाको दरबार रहेको, कनकासुन्दरी देवीको मन्दिर र पाण्डव गुफा समेत रहेको उक्त सिंजा क्षेत्र मनोरम छ । त्यहाँबाट भुलभुलेमा हुँदै मुगु जिल्लाको सिमानामा गाडी पार्किङ गरेर करीब आधा घण्टा हिँडेपछि धर्तीको स्वर्ग राराको दर्शन पाइन्छ । अनि रारा किनारै किनार पैदल हिडे एक घण्टामा रारा पुगिन्छ। रारा यात्रामा अग्ला हिमालहरूको दृश्यावलोकन गर्ने अवसर समेत पाइन्छ ।

सौराहा

नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि मानिन्छ । खासगरी सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु संस्कृतिको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् ।

सौराहामा प्रसस्त तारे होटलहरु भएकाले दसैं लगायतका बिदा मनाउन नेपालीहरु प्रशस्त छन् । सौराहामा हात्ती सफारी सहकारीले चलाउने गरको छ ।

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित छ । सौराहा पुग्न काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै १ सय ६५ किलोमिटरको दुरीमा रहेको छ ।

कालिञ्चोक

दोलखा जिल्लामा अवस्थित कालिञ्चोक पनि बिदा मनाउन एक गन्तब्यको रुपमा लिन सकिन्छ । कालिञ्चोक समुन्द्रि सतहबाट ३ हजार ७ सय मिटर मिटरको एउटा शक्ति पिठ हो । त्यहाँ भगवती, गणेशका मूर्ति र शिवपार्वती कुण्ड छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।

कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा प्रसस्त होटलहरु छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । कुरी बजारबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ । काठमाडौं–चरिकोट जम्मा १ सय ३३ किलोमिटर छ भने चरिकोट–कालिञ्चोक १७ किलोमिटरको दुरीमा छ ।

लुम्बिनी

शान्तीका प्रतिक भगवान बुद्धको जन्मस्थल लुम्बिनी पनि बिदा मनाउन जानका लागि एक उत्कृष्ट गन्तब्यको रुपमा लिन सकिन्छ । काठमाडौंबाट करीब ३ सय किलोमिटरको दुरीमा रहेको लुम्बिनी ऐतिहासिक दृष्टिकोण अत्यन्तै प्रसिद्ध मानिन्छ । अझै संसारभरका बौद्ध धर्मावलम्बीहरुका लागि एक सर्बोत्कष्ट गन्तब्यको रुपमा लिइन्छ ।

लुम्बिनीमा मायादेवी मन्दिर छ । मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन् । सिद्धार्थको जन्मस्मारक शिला पनि छ । त्यहाँ चौथो शताब्दीको मूर्ति छ । त्यसले सिद्धार्थको जन्मदृश्य झल्काउँछ ।

हलेसीधाम

हलेसीधाम हिन्दु, बौद्धमार्गी र किराँतीको साझा तीर्थ मानिन्छ । हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ । गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन्। त्यहाँ दुइटा ठुला गुफा छन् भने वरपर अरू गुफा छन् ।

हलेसीमा नेपाली सामान्यत एक रात बस्छन् । त्यहाँ मध्यम खालका होटल छन् । पानीको समस्या छ । काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २ सय १६ किलोमिटर छ । काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन् ।जीपमा १० घण्टामा हलेसी पुग्न सकिन्छ ।

पोखरा–पोखरा पनि प्रकृतिक रुपमा निकै सुन्दर शहर हो । पोखराको एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्पजस्ता साहसिक खेल पनि त्यहीँ खेल्न पाइन्छ ।

त्यहाँबाट माछापुच्छ्रे, पुठ्ठा हिउँचुली, धौलागिरि, मोदित्से, अन्नपूर्ण, घान्द्रुक, हिउँचुली, नीलगिरि, मर्दी लम्जुङ, मनास्लुलगायत दर्जनौं हिमाल देखिन्छ । फेवाताल, बेगनास ताल रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी लगायतका सुन्दर तालहरु पोखरामा छन् ।

इलाम

चियाबारीले चर्चित इलाम पनि एक उत्कृष्ट गन्तब्य हो । सदरमुकाममा बडाहाकिम गजराजसिंह थापाले विसं १९२० मा चिया रोपेका थिए ।

चिटिक्क परेको इलाम बजारमा राई, लिम्बू, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी अनुहार भेटिन्छन् । माइपोखरी, सन्दकपुर, कन्याम, अन्तुडाँडा, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, माइखोला, पाथिभरा, मंगलबारे लगायतका सुन्दर घुम्ने ठाउँ पनि छन् ।

इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ । त्यहाँबाट कुम्भकर्ण, कञ्जनजंघा लगायत दर्जनौं हिमाल देखिन्छ ।

स्वर्गद्वारी

प्युठान जिल्लामा रहेको स्वर्गद्वारी पनि एक धार्मिक गन्तब्य हो । त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथा लगायत हिमशृंखला देखिन्छ । प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ ।

स्वर्गद्वारी २ हजार ४८ मिटरको उचाइमा छ । पाँच पाण्डव यतैबाट स्वर्ग गएका हुँदा स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छव।

बन्दीपुर

तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । बन्दीपुरमा गुरुङ, मगर, नेवार, क्षत्री, बाहुनको बसोबास छ । बजार छेउको टुँडिखेलबाट धौलागिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखला देखिन्छ ।

काठमाडौंबाट मुग्लिन हुँदै डुम्रेसम्म बसमा गएर आठ किलोमिटर उकालोमा बन्दीपुर बजार आउँछ । डुम्रेमा बन्दीपुर जाने बस र जीपहरु प्रसस्त पाइन्छन् ।

भेडेटार

धनकुटा जिल्लामा रहेको भेडेटार पछिल्लो समय आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य बनेको छ । धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित रहेको भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा छ । जहाँ चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न जान सकिन्छ । भेडेटारको भ्यू टावरबाटसप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ ।