लिएन प्रहरीले ओली–लेखकविरुद्धको जाहेरीः जेनजीले दिए सडकबाटै देखाइदिने धम्की

काठमाडौं । जेनजी आन्दोलनले वाध्य भएर राजिनामा दिएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्नु पर्ने माग चौतर्फी बढीरहेको छ ।
यही बेला ओली र लेखक दुईजनालाई पक्राउ गर्नु पर्ने भन्दै जेन–जी समूहको नेता सुदन गुरुङ प्रहरी परिसर काठमाडौं पुगेर निवेदन दिन खोज्दा प्रहरीले लिन मानेन् ।
सोमबार साँझ निवेदन लिएर गएको गुरुङको समूहलाई भद्रकाली प्रहरी परिसरले निवेदन दर्ता नगरी फर्काइदिएको छ । ओली, लेखकले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ गर्न माग गर्दै निवेदन दर्ताको प्रयास गरेका थिए ।
प्रहरीले यसबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै फर्कन वाध्य भएको जेनजी टोलीले पक्राउ नगरे सडकबाटै देखाइदिने भन्दै धम्की दिएका छन् ।
ओली र लेखकलाई पक्राउ गर्न जेनजी समूहको दबाब र सडकमा चौतर्फी दबाब बढीरहे पछि प्रहरी परिसरले ओली र लेखकको सुरक्षामा कडाई गरेको छ भने सम्पूर्ण सुरक्षा युनिटलाई हाइ अर्लटमा रहन निर्देशन दिएको छ ।