संघका अध्यक्ष गुरुङ छलफल र कार्यवाहक नदिई सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सुटुक्कै जापान, नेतृत्वविहिन संघ

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ दशैंअघि नै जाइका अलुमनाई एसोसिएसन (जान)को कार्यक्रममा जापान पुगेका थिए ।
उनले संघका पदाधिकारीसँग छलफल नै नगरी र संघको कार्यवाहक अध्यक्ष समेत कसैलाई नतोकि सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सहभागि हुन जापान गएको भन्दै अहिले संघकै पदाधिकारी र अन्य म्यानपावर व्यवसायीले आवाज उठाइरहेका छन् ।
जापान जाने नेपाली कामदारको श्रम स्वीकृतिका लागि जाइका अल्मुनाई एसोसिएसन ‘जान’को भाषा परीक्षाको अनिवार्यताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । यस संस्थालाई संघले नै रिट हालेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आप्रवासन दिवस कसरी मनाउने भनेर छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा संघका अध्यक्ष गुरुङलाई छलफलका लागि बोलाएपछि उनी संघलाई जानकारी नगराइ जापान पुगेको तथ्य खुलेको थियो । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्कारले गुरुङसँग सम्र्पक गर्दा उनी जापानमा रहेको विषयमा संघका अन्य पदाधिकारीले थाहा पाएका थिए ।
गुरुङले आफुनिटक व्यवसायीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा गएको जानकारी गराएका छन् । तर यस विषयमा उनले संघमा भने कुनैपनि औपचारिक जानकारी नगराएको सघकै एक सदस्यले जानकारी दिए ।
उनकाअनुसार गुरुङ जानको कार्यक्रममा गएपनि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा सहभागि हुन आएको भन्दै ढाटिरहेका छन् । जान विवादित संस्था हो । तर यही संस्थाको कार्यक्रममा संघका अध्यक्ष नै गएपछि प्रश्न उठेको छ । उनले जानको कार्यक्रममा जाने विषयमा छलफल नगरेको संघकै पदाधिकारीहरुको गुनासो छ । यस विषयमा कुराकानी गर्न खोज्दा उनी सम्र्पकमा आएनन् । संघको अध्यक्षमा गुरुङ आएपछि संघलाई उनले मनोमानी रुपमा चलाइरहेको समेत उनीमाथि आरोप छ ।
सरकारले १४ वर्षअघिदेखि जापान जाने कामदारका लागि भाषा परिक्षा सञ्चालन गर्ने अनुमति जानलाई दिएको थियो । जानले पाँचौँ तहको भाषा परीक्षा लिँदै आएको छ । यस संस्थाले परीक्षार्थी पाँच पटकसम्म फेल गराए पैसा असुल्दै आएको छ ।
जापानी भाषा परीक्षाका लागि जानलाई एकपटकमा ३ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । जापानी भाषा परीक्षामा मासिक दुई सयभन्दा बढी नेपाली सहभागी हुने गरेको विभागले जनाएको छ । यसरी लिने परीक्षामा एकपटकमा ६० प्रतिशत उत्तीर्ण हुन्छन्। बाँकी ४० प्रतिशत परीक्षार्थी फेल हुने गरेको म्यानपावर व्यवसायी बताउँछन् ।
‘जान’लाई वैदेशिक रोजगार ऐन २०६४ ले नचिनेको भएपनि २०६७ सालदेखि नै वैदेशिक रोजगारमा जापान जाने कामदारका लागि तरबारका रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । उनीहरू भन्छन् ‘जान एक गैरसरकारी संस्था हो । कानुनले नचिनेको संस्था खडा गरेर एकलौटी सिन्डिकेट कायम गर्दै जापानमा प्रशिक्षार्थी कामदार पठाउने गरिएको छ ।
जापानबाट सीओई आएर भिसा जारी भइसकेपछि एक पटक फेल भएका परीक्षार्थीले १५ दिनसम्म परीक्षाका लागि कुर्नुपर्ने बाध्यता छ । जापानको नियममा यस्तो व्यवस्था छैन । फेल भएको अवस्थामा तीन दिनभित्र फेरि परीक्षामा सहभागी हुन पाइन्छ । भिसा आएको तीन महिनाभित्र जापान पुग्नुपर्छ । भिसा आए पनि म्यानपावर कम्पनीमार्फत जापान जानुअघि पाँचौँ तहको जापनिज भाषा अनिवार्य पास भएको हुनुपर्छ ।
संघका महासचिव महेश बस्नेत समेत आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रमका लागि कतार पुगेका छन् । उनी र संघकै द्वितीय उपाध्यक्षमा देव कुमार खोखाली कतार पुगेका छन् । उनीहरुले पनि संघका अन्य पदाधिकारीलाई जानकारी गराएका छैन ।
श्रम, मन्त्रालयका अनुसार पाँच वर्षअघिको जापानसँग भएको श्रम सम्झौता गत चैतमा सकिएको थियो । मन्त्रालयले जापानसँग श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
सरकारले जापानसँग भएको सम्झौताबमोजिम निर्दिष्ट सीपयुक्त कामदार पठाउन नसकेको हो । पाँच वर्षअघि भएको श्रम सम्झौतामा ‘नेपालबाट स्पेसिफाइड स्किल्ड वर्कर अर्थात निर्दिष्ट सीपयुक्त कामदार जापान पठाउने’ उल्लेख थियो । यिनै क्षेत्रमा म्यानपावर कम्पनी, कन्सल्टेन्सी र व्यक्तिले मात्र जापान कामदार पठाइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
जापान जाने कामदारसँग व्यक्तिगत भिसाका नाममा ठगी भइरहेको छ। प्रक्रिया नमिलाई रोजगारका क्रममा जाने कामदारहरू जापान पुगेर समस्यामा पर्ने गरेको समेत पाइन्छ । जापान म्यानपावर, व्यक्ति र कन्सल्टेन्सीले १४ देखि १६ लाख रुपैयाँ लिएर कामदारलाई जापान पठाइरहेका छन् । तर सरकारले नियमन गर्न सकेको छैन ।