Close

Recent Posts

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो मागदाबी

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो मागदाबी
  • २७ आश्विन २०८२, सोमबार १७:०९

काठमाडौं– सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार महरामाथि ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गर्दै अभियोग दर्ता गरिएको हो ।

mulpatra

महरामाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । सीआईबीले आइतबार उनलाई पक्राउ गरेको थियो । मंगलबारदेखि थुनछेक बहस सुरु हुँदैछ । त्यसपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय हुनेछ ।

२०७९ पुसमा काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेसमा शंका लागेपछि भन्सारले नियन्त्रणमा लिएको थियो । भेपमा सुन लुकाइएको सूचना पाएपछि सुन तस्करी भएको पुष्टि गर्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

सो प्रकरणमा भन्सारका कर्मचारीदेखि विदेशी नागरिकसम्म संलग्न देखिएका छन् भने महरा र उनका छोरा राहुल महरासहित अन्यलाई मतियारका रूपमा पूरक अभियोजन गरिएको छ ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।