सभामुख दलको बैठक:लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पछि नहट्ने,सर्वोच्चको फैसला स्वीकार्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ । बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले संसद् पुनस्र्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए । ‘यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो। यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ। सबै दलहरूको आआफ्नै निर्णय छन्। त्यसैको आधारमा अद्दि बढ्छौँ।’ उनले भने ।
सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनुभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत हुने बताइएको छ । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको बताए । संसद् विघटन नभएको भए वर्तमान संसदबाटै संविधान संशोधन गरी जेनजीको माग पूरा गर्नसक्ने भएपनि विघटन गरेकाले अब सम्भव नभएको उनको भनाइ छ ।