तीन महिनामै सरकारको १८ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च सुस्त
काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा सरकारले वार्षिक बजेटको झन्डै १८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा कुल ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । जुन कुल बजेटको १८.५६ प्रतिशत मात्र हो ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्चको गति भने अपेक्षाकृत सुस्त देखिएको छ । पुँजीगत खर्च नै कमजोर नै देखिएको छ । पहिलो त्रैमासिकमा पुँजीगत शीर्षकमा जम्मा १९ अर्ब १८ करोड रुपैयाँ मात्रै खर्च गरिएको छ । जुन वार्षिक लक्ष्यको केवल ४.७ प्रतिशत हो ।
सर्वसाधारण खर्च (चालु खर्च) भने तुलनात्मक रूपमा बढ्दो छ । असोज मसान्तसम्ममा चालु खर्चतर्फ २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ अर्थात् २१.७५ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थासम्बन्धी खर्चतर्फ ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको छ । जुन वार्षिक लक्ष्यको २३.६१ प्रतिशत हो ।
राजस्व संकलनतर्फ पनि सरकार लक्ष्य अनुरूप अघि बढ्न सकेको छैन । चालु वर्षको तीन महिनामा कुल राजस्व संकलन २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँमा सीमित छ । जुन कुल लक्ष्यको १६.५१ प्रतिशत मात्र हो ।
आन्तरिक राजस्व संकलन केही सशक्त देखिए पनि अझै धेरै फड्को मार्न बाँकी छ । सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म जम्मा २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ उठ्न सकेको छ । जुन १६.८३ प्रतिशत हो ।
वैदेशिक अनुदान संकलन अझै कमजोर देखिएको छ । यो शीर्षकमा सरकारले ५३ अर्ब ४४ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म जम्मा दुई अर्ब ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । जुन कुल लक्ष्यको मात्र ३.७६ प्रतिशत हो । सरकारी खर्च र राजस्व संकलन दुवै पक्षमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रदर्शन सुस्त देखिएको छ ।
