विदेशमा कार्यरत नेपाली चेलीको तिहार, माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्’
काठमाडौं– पछिल्लो समय शिक्षा, रोजगारी र अन्य अवसरको खोजीमा एक देशदेखि अर्को देशमा जाने चलन बढ्दो छ । यसकारण चाडपर्वको पनि दायरा फराकिलो बन्दै गएको छ । सीमित समुदायमा मानिने चाडपर्व समुद्रपारीका देशमा पनि मनाउन थालिएको छ ।

वैदेशिक रोजगारीमा आएका दाजुभाइलाई दिदीबहिनी भेला भएर भाइटीका लगाउने गरेका छन् । दसैंमा आफूलाई टीका लगाइदिएका नेपाली दाजुभाइहरुबाट तिहारमा भाइटिका लगाउँछिन् ।
५ वर्षअघि रोजगारीका लागि युएई पुगेकी झापाकी सविता अधिकारीले दसैंमा नेपाली दाजु–भाइको हातबाट टीका ग्रहण गर्छिन । ‘सरकारले घरेलु महिला कामदारलाई खाडीका देश जान प्रतिबन्ध लगाएपछि फेरि फर्किन नपाउने डरले नेपाल गएको छैन । ५ वटा दसैंतिहार युएईमै मनाएँ । विदेशमा दसैंतिहार मनाउने बानी भएको छ । ५ वर्षमा करिब २० जना माइती बनाएर टिका लगाएँ,’ उनले भनिन ‘चाडपर्वका बेला नेपाली दाजुभाइ तथा दिदीबहिनी मिलेर विदेशमा नै मनाउने गरेको छौं । तर, नेपालमा जस्तो दसैंतिहारको महत्व र रमाइलो विदेशमा हुँदैन् । आफनो देश भनेको आफ्नै हो ।’ विदेशको चाडपर्व काम मनाए जस्तो मात्र गरिने उनको भनाइ छ ।
रोजगारीका ४ वर्षअघि रोजगारीका लागि इजरायल पुगेकी पाल्पाकी इशा रेग्मी पनि उत्तै दसैंतिहार मनाउन गरेकी छिन् । रेग्मीले पनि इजरायलमै रहेको नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छिन् । ‘नेपालमा जस्तो दसैंतिहार रमाइलो त हुँदैन् । तर नहुनु मामाभन्दा कानो मामा जाति भनेझैं इजरायलमै भएका दाजुभाइलाई भेला भएर तिहार मनाउँछौं,’ उनले भनिन् ‘रोजगादाता कम्पनीले नेपालीको चाडपर्वमा बिदा नदिने भएकाले पनि चाडपर्व रमाइलो हुँदैन् । वैदेशिक रोजगारीमा आएपछि चाडपर्वभन्दा पनि कामकै महत्व ठूलो महत्व धेरै हुन्छ ।’
यस्तै, ३ वर्षअघि रोजगारीका लागि बेल्जियम पुगेकी सुनसरीकी राधा घिमिरेले त्यहाँ रहेका नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छिन् । रोजगारी र अन्य पेसा व्यवसाय गरेर बेल्जियममा रहेको नेपाली दाजुभाइलाई सामूहिक रूपमा भेला गरी टीका लगाउने गरको राधाले बताइन् । ‘नेपालमा जस्तो रमाइलो विदेशमा नहुने भएपनि भाइटीका लगाउन माइतीको अभाव हुँदैन् । नेपालमा जस्तो देउसीभैलो खेल्न पाइँदैन् । त्यही भएर विदेशमा चाडपर्वमा रमाइलो हुँदैन् ,’ उनले भनिन् ‘समुद्रपारि भएपनि नेपालमा हुँदा मनाएको दसैंतिहारको झलझली याद आउँछ । तिहार मनाउन घर फर्किन खोजेपनि पाइदैन् ।’ विदेशमा रहेको नेपाली चेलीबेटीले सम्बन्धीत देशमा हल्का भएपनि रमाइलो गरेर तिहार मनाउने गरेको उनको भनाइ छ ।
रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन् ।
दसैं सकिएलगत्तै तिहारको रमझम सुरु हुन्छ । तिहारमा काग, कुकुर, गाई पूजासँगैलक्ष्मी, गोवर्धन र दिदीबहिनी भाइटीका लगाउछन् । तिहारमा त विषेशतः सबैभन्दा रमाइलो देउसी भैलो खेल्नमा हुन्छ । सेलरोटीलगायतका मिष्ठान्न भोजन खाई रमाइलो गरी तिहार मनाउने प्रचलन नै छ । दसैंभन्दा तिहार धेरै रमाइलो हुने भएका कारण पनि विदेशमा रहेका नेपाल यो समयमा देशलाई सम्झिरहेका हुन्छन् ।
रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन्
सामाजिक सञ्जालले चाडपर्वका बेला देश–विदेशमा रहेका नेपालीहरुलाई परिवारसँग जम्काभेट गराइदिन्छ । विदेशका नेपालीले पनि सामाजिक सञ्जालमा आफन्त र परिवारले चाडपर्व मनाएको तस्बिर हेरेर चित्त बुझाउने गरेको लेबनानबाट इलामकी रिता राई बताउँछिन् । चाडपर्व मनाएका तस्बिर सामाजिक सञ्जालमा आदानप्रदान गर्दा देश–विदेशमा रहेका आफन्तबीच खुसीयाली पनि साटासाट हुने गरेको उनको भनाइ छ । विगत केही वर्षयता सामाविक सञ्जालले दसैंतिहार र समाजमा भएका राम्रा नराम्रा घटना विदेशमा रहेका नेपालीले तत्काल थाहा पाउने गरेका छन् ।
फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालले दशै–तिहारलगायतका पर्वको महत्व बढाउँदै लगेको विदेशमा रहेका नेपालीले बताउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै गएपछि चाडपर्व गाउँगाउँका घटनामा पनि समाजिक सञ्जालमा छरिने गरेका छन् । नेपालमा रहेका आफन्तले दसैंतिहार कसरी मनाए भन्ने कुरा तत्काल थाहा पाइने भएकाले सामाजिक सञ्जालले समेत चाडपर्वको महत्व थप्दै गएको छ ।
विदेशमा पनि चाडपर्व मनाइने भएपनि रोजगारी वा अन्य कामले विदेश पुगेका नेपालीमा भने सकेसम्म यही अवसरमा स्वदेश फर्किने गरेका छन् । हाल वैदेशिक रोजगारीमा करीब ४७ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । जसमध्ये दसैंतिहार मनाउन वा बिदा लिएर २ लाखभन्दा धेरै नेपाली स्वदेश फर्किने गरेका छन् ।
