प्रधानमन्त्रीको आलोचना गर्दा आफूलाई पक्राउ गर्न खाेजेकाे स्वागतको दाबी, साइबर ब्युरोकाे अस्वीकार

प्रधानमन्त्रीको आलोचना गर्दा आफूलाई पक्राउ गर्न खाेजेकाे स्वागतको दाबी, साइबर ब्युरोकाे अस्वीकार
  • ५ कार्तिक २०८२, मंगलवार ११:५०

काठमाडौं । अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो जारी गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीविरुद्ध उठाएको प्रश्नका कारण आफूलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गर्न खोजेको बताएका छन् ।

mulpatra

साइबर व्यूरोले भने नेपाललाई बोलाइएको विषयमा अनविज्ञता प्रकट गरेको छ । फेसबुकमा सार्वजनिक भिडियोमा अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीमाथि उठेका नैतिकताको प्रश्न सामान्य आलोचना नभई संवैधानिक चरित्रसँग सम्बन्धित भएको दाबी गरेका छन् ।

उनले सोमबार लक्ष्मी पुजाकै दिन भिडियोमार्फत अभिव्यक्ति स्वतन्त्रता, नैतिकता र संविधानको व्याख्या गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको सरकारलाई “निरंकुशतावादी प्रवृत्ति देखिएको” टिप्पणी गरेका छन् ।

mulpatra mulpatra mulpatra

नेपालले अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत राखिएको विचारलाई सुधारको अवसरका रूपमा लिनुपर्नेमा, बरु त्यसलाई रोक्ने प्रयास भएको आरोप लगाएका छन् ।

उनले भने, “सञ्चार माध्यममा राखिएको विचारलाई सुधार गर्नुपर्ने हो, उल्टै बन्द गर्न खोजेपछि जेनजी आन्दोलन सुरु भएको हो ।” उनले यसअघिका सरकारभन्दा पनि अहिलेको सरकार बढी नियन्त्रणमुखी बनेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले थपे, “के अदालतमा यी प्रश्न उठ्लान् भन्ने डरले हो कि सामाजिक सञ्जालमा बोलेको आधारमा पक्राउ गर्न खोजिँदै छ ? यदि आइहाल्नुपर्छ भने आइहाल्छु । जरुरी परे पक्राउ पुर्जी दिनुपर्छ, तर अदालत नै बन्द छ ।” उनले व्यङ्ग्य गर्दै साइबर व्यूरोले आफूलाई तिहार मनाउन सुझाव दिएको बताएका छन्, “उनले भने, तिहार छ, तिहार मनाउनुहोस् । मैले पनि भनेँ, भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, तर जरुरी भए आउँछु ।”

Image Source: © https://mulpatra.com

नेपालले संविधानको मर्म विपरीत प्रधानमन्त्री बनेको आरोपसमेत लगाउँदै भनेका छन्, “संविधान बमोजिम उहाँ आफैं प्रधानमन्त्री हुन पाउनुहुन्न । संविधान बाहिरको समाधान खोज्ने कुरा मान्य हुँदैन । आन्दोलनले पनि संविधान मान्नेगरी नै आएको हो, त्यसैले संविधानविरुद्धको गतिविधि स्वीकार्य छैन ।”

उनले अभिव्यक्ति स्वतन्त्रताको सीमामा प्रहार गरिएको भन्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको सरकारले आलोचनालाई दमन गर्ने प्रवृत्ति देखाएको बताएका छन् ।

उनका अनुसार, “जेन अल्फाको रगतदेखि जेन एक्स र वाइ पुस्ताको बलिदानले ल्याएको संविधानमाथि प्रश्न उठ्ने अवस्था आएको छ । नैतिकताको प्रश्न प्रधानमन्त्रीमाथि उठेको हो, अदालतमा पनि उठ्नेछ ।” उनले सरकार र नागरिक दुवैलाई सचेत रहन आह्वान गर्दै भने, “म मरे पनि अभिव्यक्तिको अधिकारका लागि आवाज उठाइरहनुहोस्।”

नेपालले अन्त्यमा भनेका छन्, “अबको प्रश्न केवल सुशिला कार्कीसँग होइन, यो देश र आगामी पुस्तासँग जोडिएको प्रश्न हो । सरकारले यसको जवाफ दिनैपर्छ ।”

नेपाल प्रहरीको साइबर व्यूरोले भने स्वागत नेपालको दाबी अस्वीकार गरेको छ। व्यूरोका प्रवत्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले भने, “हामीसँग स्वागत नेपाललाई बोलाइएको वा सोधपुछ गरिएको कुनै आधिकारिक जानकारी छैन ।” व्यूरोले यस विषयमा कुनै औपचारिक कारबाही नचलाएको जनाइएको छ ।