कामनगर्ने ठेकेदारसँगको सम्झौता तोड्दै सरकार
काठमाडौं । सिचाई मन्त्रालय मातहत सम्झौता गरी वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । जलश्रोत तथा सिचाई विभाग धनुषाको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर (महोत्तरी) अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो ।

बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न गएको असोज ३० गते १५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका निम्ति रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोहीबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले व्यवसायीबाट सम्झौताबमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकोले उक्त ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख छ ।

