विवाद बाहिरिएपछि श्रम मन्त्रीमा सिफारिस सुनारको शपथ रोकियो
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने उल्लेख थियो ।

यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।
अहिले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । ‘बिहान नाम समावेश भएर आएको थियो । अहिले प्रधानमन्त्रीका स्वकीय सचिव आएर प्रधानमन्त्रीले शपथ नगराउने जानकारी गराउनुभयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।
स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
२०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो ।
सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा। सोजन सापकोटाको जाहेरी दिएका थिए ।
