आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र र गणपतिलालको रोकियो
काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज पनि पूर्णता नपाउने भएको छ । आज ४ मन्त्रीको शपथ हुने भनिए पनि अन्तिम समयमा आएर २ जनाको मात्रै शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिने छन् । अरु दुई जनामा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ थिए । सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा भएपछि प्रधानमन्त्रीले उनको नाम फिर्ता लिएको बालुवाटार स्रोतले जनाएको छ। श्रेष्ठको शपथ रोकिएको विषयमा भने बालुवाटारले कारण खुलाएको छैन ।
सुनारको विषयमा प्रधानमन्त्री कार्कीले केहीबेरअघि केही मन्त्रीहरूसँग छलफल गरेकी थिइन्। स्रोतका अनुसार श्रेष्ठले पर्यटनबाहेक मन्त्रालयको जिम्मेवारी नलिने बताएका छन् । यसअघि उनलाई पर्यटन मन्त्री बनाउने गरी कार्कीले सिफारिस गरेकी थिइन्। तर, अन्तिममा भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन् ।
