२३ वटा अदालत जलाउनेविरुद्ध प्रहरीमा जाहेरी दिने फुलकोर्टको निर्णय
काठमाडौं– जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध सर्वोच्च अदालतले जाहेरी दिने निर्णय गरेको छ । भदौ २४ गते भएको आन्दोलनमा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनीबाट ध्वस्त भएका छन् ।

सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ । आगजनीमा संलग्न कतिपयको पहिचान भइसकेको छ। सार्वजनिक भएका भिडिओ, फोटो र सीसी क्यामेराबाट पहिचान गर्न सकिने अवस्था छ ।
आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । ‘आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ । सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।’ उनले भने ।
क्षतिको विवरणसहित जाहेरी दिने र सरकारले गठन गरेको जाँचबुझ आयोगमा पनि बुझाउने भएको हो। अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक कुनै पनि काम नलाग्ने भएका, उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि काम नलाग्ने भएको छ ।
सर्वोच्च अदालतका ४३, उच्च अदालतका न्यायाधीशका २३, जिल्ला अदालतका न्यायाधीशका २५ वटा र मातहतका अदालतका ३८ वटा छन् । २२३ वटा मोटरसाइकल र ७० वटा स्कुटर पनि जलेका छन् । यी सबै क्षतिको विवरणसहित जाहेरी दिने अदालतको तयारी छ ।
