Close

Recent Posts

काठमाडौंमा बर्षाः सडकदेखि हवाई यात्रा सम्म प्रभावित

काठमाडौंमा बर्षाः सडकदेखि हवाई यात्रा सम्म प्रभावित
  • १४ कार्तिक २०८२, बिहीबार १३:०५

काठमाडौँ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशभर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा जनजीवन प्रभावित बनेको छ।

mulpatra

निरन्तर वर्षाले काठमाडौंमा सडक यातायातसमेत प्रभावित भएको छ। खराब मौसमका कारण हवाई सेवामा पनि असर परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भिजिबिलिटी घटेपछि तीन अन्तर्राष्ट्रिय र दुई आन्तरिक उडान डाइभर्ट भएका छन्। नयाँ दिल्लीबाट आएको एयर इन्डियाको विमान लखनउमा अवतरण गर्नुपरेको छ भने कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँ दिल्ली फर्काइएको छ। त्यस्तै, इन्डिगोको दिल्ली–काठमाडौं उडान पनि भारततर्फ फर्काइएको छ।

mulpatra mulpatra mulpatra

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा जारी रहनेछ। कर्णाली र सुदूरपश्चिममा छिटपुट तथा अन्य प्रदेशहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। विभागका अनुसार शनिबार बिहानदेखि मात्र मौसममा सुधार आउने सम्भावना छ।

काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। बिहान छिटपुट रूपमा पानी परे पनि दिउँसोदेखि वर्षाको तीव्रता बढ्दै जाने मौसम विभागको अनुमान छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उल्लेख्य वर्षा रेकर्ड गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। साथै, जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र अद्यावधिक मौसम सूचना ध्यानपूर्वक अनुसरण गर्न अनुरोध गरेको छ।

Image Source: © https://mulpatra.com