पूँजीबजार नियामक धितोपत्र बोर्ड ३८ दिनदेखि ठप्प
काठमाडौं– एक महिनाभन्दा लामो समयदेखि मुलुकको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डका सबै काम ठप्प छन् । असोज ७ गतेदेखि बोर्डका सबै काम ठप्प हुँदा पनि सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन ।

३८ दिनदेखि बोर्डका कर्मचारी आन्दोलनमा रहँदै काम ठप्प पारेका हुन् । बोर्डमा अहिले हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्तासहितका काम ठप्प छन्, बोर्डमा कहिलेबाट नियमित कार्य सुरु हुने हो, अनिश्चित छ ।
यसअघि असोज २ गते अर्थ मन्त्रालयले बोर्डसँग सम्बन्धित तीन निर्णय गरेको थियो । तिनै निर्णयविरुद्ध कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।
![]() |
![]() |
![]() |
|---|
मन्त्रालयले गरेको पहिलो निर्णय थियो – बोर्डमा रहेका दुई कर्मचारी कोष खारेज गर्ने । हाल कर्मचारीको हितका लागि भन्दै दुई कोष सञ्चालनमा छन् – कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष ।
यी दुवै कोषलाई खारेज गर्न बोर्ड सञ्चालक समितिलाई निर्देशन दिइएको छ । यी कोष खारेज भएपछि कर्मचारीले यसअघि खाईपाई आएको थप रकम कटौती हुन जान्छ ।
कार्यरत सेवा अवधिअनुसार एउटा कर्मचारीको भागमा यी कोषबाट वार्षिक करिब डेढ लाख रुपैयाँदेखि साढे दुई लाख रुपैयाँसम्म रकम पर्ने गरेको छ ।
Image Source: © https://mulpatra.com
मन्त्रालयले गरेको दोस्रो निर्णय हो– ती कोषबाट विगतमा भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट असुल गर्ने प्रक्रिया सुरु गर्नुपर्ने । बोर्डमा अहिले ३० वर्षदेखि नै काम गरेका कर्मचारी छन् ।
‘हाम्रो माग जबसम्म सरकारले सुन्दैन, काम ठप्प नै हुन्छ’ नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले भने । सञ्चालक समितिले समेत कर्मचारीको माग सम्बोधनका लागि कुनै पहल नगरेको कर्मचारीको भनाइ छ । बोर्डमा रहेका दुई संगठन कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले संयूक्त रुपमा आन्दोलन गरेका हुन् ।
बोर्डका कर्मचारीलाई सरकारविरुद्ध मुद्दा दायर गरेर कानुनी बाटोबाट समाधान खोज्न सञ्चालक समितिले सुझाएको छ ।
बोर्डका विभिन्न आम्दानीबाट यी कोषमा रकम जम्मा हुने गर्छ र कोषबाट नै कर्मचारीलाई अवकाससहितको सुविधा र कार्यरत कर्मचारीलाई पनि वार्षिक रुपमा बाँडिँदै आएको छ ।



