पार्टी महाधिवेशन बारे विश्वप्रकाशको चार विकल्प
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न पार्टी महाधिवेशनबारे चारवटा वैकल्पिक प्रस्ताव अघि सारेका छन्। बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको संवादमा महामन्त्री शर्माले यी विकल्पहरू प्रस्तुत गर्दै पार्टीले अब ढिलाइ नगरी निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन्।

पहिलो विकल्पः मंसिर २७–२९ मा नियमित महाधिवेशन
शर्माले पहिलो प्रस्तावका रूपमा अर्का महामन्त्री गगन थापाद्वारा कार्यसम्पादन समितिमा पेस गरिएको कार्यतालिका पारित गरी मंसिर २७ देखि २९ गतेसम्म नियमित १५औं महाधिवेशन गर्ने सुझाव दिएका छन्। उनले व्यक्तिगत वा समूहगत आग्रहभन्दा माथि उठेर पार्टीको विधानअनुसार नियमित कार्यतालिका अनुमोदन गर्न कार्यवाहक सभापति खड्कालाई आग्रह गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
दोस्रो विकल्पः मंसिर मसान्तभित्र विशेष महाधिवेशन
दोस्रो विकल्पमा शर्माले पार्टी विधानको दफा १७ (२) अनुसार केन्द्रीय समितिले चाहेमा मंसिर मसान्तभित्रै विशेष महाधिवेशन बोलाउन सकिने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार विधानअनुसार केन्द्रीय समितिको निर्णयले विशेष महाधिवेशन गर्न सकिन्छ, जसका लागि पर्याप्त आधार तयार भइसकेको छ।
तेस्रो विकल्पः प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन
Image Source: © https://mulpatra.com
तेस्रो प्रस्तावमा उनले सोही विधानको व्यवस्था अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले लिखित रूपमा गरेको माग सम्बोधन गर्दै विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्। असोज २९ गतेसम्म ४७४३ प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्। विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुँदा त्यसलाई सम्बोधन गर्नुपर्ने उनले औंल्याएका छन्।
चौथो विकल्पः पुस १६–१९ मा नियमित महाधिवेशन
यी तीन विकल्पमा सहमति जुट्न नसके पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने चौथो प्रस्ताव उनले राखेका छन्। पुस १६ गते संस्थापक नेता बीपी कोइराला २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन भएकाले सो मितिलाई महाधिवेशन प्रारम्भको प्रतीकात्मक समय बनाउन सकिने उनको भनाइ छ।
अन्य प्रस्ताव र सुझाव
महामन्त्री शर्माले निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन, र महाधिवेशन तयारीका उपसमिति गठन गर्न केन्द्रीय समितिलाई आग्रह गरेका छन्। साथै, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको निर्णयपछि फागुन २१ गते हुने आम निर्वाचनको तयारीमा पार्टीले जुट्नुपर्ने उनको भनाइ छ।
उनीले उम्मेदवार छनोटमा प्राइमरी इलेक्सन प्रणाली लागू गर्न, प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिला सहित तीन उम्मेदवार सिफारिस गर्ने व्यवस्था गर्न, र जेन–जेड पुस्ताका युवाहरूसँग संवाद गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने सुझाव समेत दिएका छन्।
शर्माका अनुसार यी विकल्पहरूबीच सहमति बनाएर पार्टीले अब स्पष्ट दिशातर्फ अघि बढ्न जरुरी छ, अन्यथा संगठनमा अनावश्यक असमझदारी बढ्ने खतरा रहन्छ।



