चुनाव गराउन आयोगले माग्यो करिब ८ अर्ब, अध्ययनपछि दिने तयारीमा अर्थ मन्त्रालय
काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । चुनाव खर्चका लागि आयोगले ७ अर्ब ८१ करोड रुपैयाँ प्रस्ताव गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

आयोगले चुनावका लागि करिब ८ अर्ब रुपैयाँ बजेट माग गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक साताअघि निर्वाचनका लागि आवश्यक रकम अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको जानकारी दिए ।
अघिल्लो पटक २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले प्राप्त गरेको रकमभन्दा आगामी चुनावका लागि प्रस्ताव गरिएको रकम २ अर्ब रुपैयाँ बढी छ । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब ८१ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको थियो ।
चालू आर्थिक वर्ष ०८२÷८३ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ । जेन–जी प्रदर्शनपछि संसद् विघटन भई नयाँ अन्तरिम सरकार गठन भएसँगै समयअगावै निर्वाचनमा जानुपर्ने अवस्था छ। यसका लागि आयोगलाई निर्वाचन गर्न अतिरिक्त खर्च चाहिने भएको हो ।
विगतमा निर्वाचनमा खर्च
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब ८१ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको थियो ।
यस्तै, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७ अर्ब ५९ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ६ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको थियो ।
२०७० को दोस्रो संविधिानसभा निर्वाचनमा ३ करोड ६ करोड ३० लाख रुपैयाँ र आठ दातृराष्ट्रबाट ३ अर्ब १८ करोड सहयोग प्राप्त भएको थियो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा २ अर्ब ८० करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
