विदेशमा रहेका नेपालीलाई मताधिकार सम्बन्धी गृहको मस्यौदा निर्वाचन आयोगमा
काठमाडौं– विदेशमा रहेका मतदाताले सम्बन्धित देशबाटै मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएको छ। उक्त मस्यौदाउपर आयोग छलफलमा छ । गृह मन्त्रालयले संशोधनका लागि प्रस्ताव गरेका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन छन् ।
गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजाल पनि निर्वाचन आयोगबाट मस्यौदाउपर जवाफ आएपछि थप छलफल गरेर अगाडि बढाइने बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
गृह मन्त्रालयका अनुसार कानुनी प्रबन्ध भएपछि विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ ।
ऐनहरूमा आवश्यक व्यवस्था राखेर विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाटै मतदान गर्न दिन लागिएको हो । गृहको प्रस्तावमा आफूहरू सकारात्मक रहेको आयोगका अधिकारीहरू बताउँछन् ।
कुन देशकाले पाउने कुन देशकाले नपाउने, यसका लागि खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सुरक्षाको विषयमा विस्तृत छलफल भएको छैन ।
Image Source: © https://mulpatra.com



