तीन महिनामै ५० अर्ब ६० करोड बढ्यो सरकारको ऋण
काठमाडौं– तीन महिनामै साढे ५० अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

पहिलो त्रैमासमा ५० अर्ब ६० करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ । कार्यालयका अनुसार गत असार मसान्तमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सरकारी ऋण असोज मसान्तसम्ममा बढेर २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
यससँगै हाल सरकारको कुल ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत बराबर पुगेको छ । कूल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सरकारले यो आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब रुपैयाँ बराबरको ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर असोज मसान्तसम्ममा सो लक्ष्यको १६.९३ प्रतिशत अर्थात् एक खर्ब ८४ करोड रुपैयाँ ऋण मात्रै उठिसकेको छ ।
आन्तरिक ऋणतर्फ तीन खर्ब ६२ अर्ब उठाउने लक्ष्यमध्ये ९० अर्ब रुपैयाँ (२४.८६ प्रतिशत) उठाएको छ । वैदेशिक ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँमध्ये हालसम्म मात्र एक अर्ब ८४ करोड रुपैयाँ (४.६५ प्रतिशत) प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ ।
यसैबीच, सरकारले ऋणको साँवा र ब्याज तिर्न चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । असोज मसान्तसम्ममा एक खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको देखिन्छ । जुन कुल बजेटको २६.७४ प्रतिशत हो । सार्वजनिक ऋण सेवामा जीडीपीको १.८० प्रतिशत खर्च भइसकेको कार्यालयले जनाएको छ ।
Image Source: © https://mulpatra.com



