कम्युनिष्टभित्र मार्गचित्र अनिश्चित, सैद्धान्तिकभन्दा व्यक्तिगत इगो, पद–प्रतिष्ठाको लोभमा टुट्फुट्८ दशकमा ६ दर्जन कम्युनिष्ट पार्टी
काठमाडौं– २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । त्यसपछि, टुटफुट र एकता, विघटन नेपाल कम्युनिष्ट आन्दोलनको नियती बन्दै अघि बढ्यो । तर कहिले पुर्णता भने पाएन । नेपालमा कम्युनिष्ट जुट्ने भन्दा फुट्ने धेरै भयो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई आधार मान्दा पनि पछिल्लो ८ दशकमा टुट्दै, फुट्दै ६ दर्जन कम्युनिष्ट पार्टीहरु देखा परे ।

कम्युनिष्टको जन्म भएको करिव ८ दशक लामो इतिहासमा नेपालमा औपचारिक–अनौपचारिक तथ्यांक हेर्दा हरेक वर्ष मिलेर वा फुटेर नयाँ कम्युष्टि पार्टी जन्मिने क्रम जारी छ । सैद्धान्तिक–राजनीतिक विषयमा मत–मतान्तर भन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद–प्रतिष्ठा र अवसरकै कारण कम्युनिष्ट पार्टीहरू जुट्ने–फुट्ने गरेको पाइन्छ ।
वि.सं २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई काराबास पठाएको घटनालार्ई केशरजङ्ग रायमाझीले स्वागत गरे ।
![]() |
![]() |
![]() |
|---|
पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिए, पार्टी विभाजनको रेखा त्यहीबाट कोरियो । समयक्रममा पूर्व मेची कोशी प्रान्तीय कमिटी (कोके) पनि बन्यो तर अर्कोतिर रायमाझी समूह तयार भयो । यो कम्युनिष्ट पार्टीहरू जुट्ने–फुट्ने शुरुवात थियो । यसले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
२०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । यो कम्युनिष्ट पार्टीको नेपाली इतिहासमा ठुलो एकता थियो ।
एउटा पार्टीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् भने अर्का पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा लिएका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३७ वर्षमा ६ पटक पार्टीको नाम परिवर्तन गरेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source: © https://mulpatra.comगत आइतबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी सहित ८ दलबिच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो । एमाले–माओवादीपछि अर्को ठुलो एकता माओवादी र एसको हो । उनीहरु ८ पार्टीको आज एकता सभा हुँदै छ ।
नेकपा माओवादी गठन गरेको ३० वर्षमा प्रचण्डले २०७५ र अहिले गरी दुई पटक माओवाद विचारधारा परित्याग गरेका छन् । जनयुद्धको राप र तापबाट स्थापित भएको माओवादी नाम र २०६४ देखि निरन्तर चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा हटाउने निर्णयलाई माओवादमा आस्था र विश्वास राख्ने नेता तथा कार्यकर्ताहरूले आत्मसात् गर्न सकेका छैनन् ।
निरन्तरतामा क्रमभङ्ग गर्न रुचाउने प्रचण्डले आफैँले जन्माएको माओवाद तीन दशकमा आफैँले विघटन गरे । उनीलाई माओवादीका सहयात्री नेताले मूल मर्म बिर्सिएको आरोप लगाएका छन् ।
एमालेमा केपीमा त्यति ठुलो परिवर्तनका लागि त्याग छैन । कम्युनिष्टका मोहनचन्द्र अधिकारी दुर्गा अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल जस्ता पुराना नेताहरु कहाँ छन पत्तो छैन ।
माधव नेपालले १५ वर्ष एमालेको महासचिव चलाए । उनको व्यवस्थापनको अहिलेसम्म चर्चा भइरहेको छ । तर अहिले उनी माओवादीमै विलय भए । यता एसका सम्मानित नेता झलनाथ खनाल बिचल्लीमा परे । के गर्ने भनेर दोधारमा छन् भने एसका महासविच घनश्याम भुसाल भने एसलाई निरन्तरता दिने अभियानमा छन् ।
वामदेव गौतम भने खुशीका साथ माओवादीमै लागे । जनमोर्चा मोहनविक्रम सिंह, चित्र बहादुर केसी, माओवादीका मोहन वैध, बाबुराम भटट्राई, जर्नादन शर्मा, जस्ता नेता ओझेलमा छ । एमालेका विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, गोर्कण विष्ट, योगेश भट्टराई पार्टी भित्रै दबिएका छन् ।
नेपालमा कम्युनिष्ट पार्टी टुटफुट
२००६ सालमा स्थापना भएको नेकपामा त्यसयता फुट र जुटको लामो इतिहास छ ।
पुष्पलाल श्रेष्ठ,नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी नेकपाका संस्थापक नेता हुन् । पहिलो पटक नेकपा राजा महेन्द्रको ‘कू’ पछि विभाजन भएको हो । तत्कालीन नेकपा महासचिब केशरजंग रायमाझीले राजाको कदमलाई स्वीकार गरेपछि तत्कालीन नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह र तुलशीलाल अमात्य अलग्गिएका थिए। महेन्द्रको ‘कू’ पछि निष्प्रभावी बनेका कम्युनिस्ट २०२३ पछि मेची कोसी प्रान्तीय कमिटी र केशरजंगको समूहबीच विभाजन भयो। २०२४ मा पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गराए । त्यो पनि २०२५ मा विभाजन भयो। पुष्पलाल र तुलशीलालबीच विभाजन भएको थियो ।
त्यसपनि दुईवटा कम्युनिष्ट धार देखिए । सीपी मैनालीले नेतृत्व गरेको झापा जिल्ला कमिटी र मोहनविक्रम सिंहले नेतृत्व गरेको केन्द्रीय न्यूक्लियस । २०३५ मा नेकपाका संस्थापक पुष्पलालको निधन भयो। यहीबीचमा मदन भण्डारी वामदेव गौतहरुले मुक्ति मोर्चा गठन गरेका थिए । उता झापा जिल्ला कमिटीले आफूलाई रुपान्तरण गरेर अखिल नेपाल कोअर्डिनेशन कमिटी बनाएको थियो, जुन २०३५ मा सीपी मैनालीको नेतृत्वमा नेकपा (माले)का रुपमा पार्टी बन्यो ।
२०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) गठन गरियो । पुष्पलालको निधनपछि उनले नेतृत्व गरेको नेकपालाई उनकी श्रीमती सहाना प्रधानलगायतले चलाए, जसको २०४३ मा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो । यो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) राखियो ।
२०४६ सालमा माले र माक्र्सबादीसहित साना कम्युनिस्ट पार्टी मिलेर बाम मोर्चा बन्यो, जसको नेतृत्व सहाना प्रधानले गरिन् । यही बाम मोर्चा र काँग्रेस मिलेर २०४६ सालको जन आन्दोलन गरेका थिए, जुन सफल पनि भयो । जनआन्दोलन सफल भएपछि माले र माक्र्सवादीबीच पार्टी एकता एभर नेकपा (एमाले)को जन्म भयो । महासचिब मदन भण्डारी भए । जसले जनताको बहुदीय जनवाद सिद्धान्त ल्याएर कम्युष्टि पार्टीलाई पनि बहुदलीय प्रतिष्प्रधामा जान बाटो खोले ।
२०५४ मा महाकाली सन्धीलाई लिएर नेकपा (एमाले)मा विवाद भयो । जसले गर्दा वामदेव गौतम, सीपी मैनाली लगायतले पार्टी विभाजन गरेर नेकपा (माले) बनाए। नेकपा माले अझै अस्तित्वमा छ । वामदेव भने विभाजनको पाँच वर्षपछि एमालेमै फर्किए ।
एमालेसम्मको विकासक्रम यता हुँदा अर्कोतर्फ पनि अर्को कम्युनिस्ट घटकमा पनि उथलपुथल भइरहेको थियो। मनमोहन सिंहको चौथो महाधिवेशन २०४० मा विभाजन भयो । निर्मल लामाले सो विभाजन ल्याएका थिए। लामाको नेतृत्वमा नेकपा (चौम) र मोहन विक्रम सिंहको नेतृत्वमा नेकपा मसाल पार्टी गठन भयो । मसालको पाँचौ महाधिवेशनपछि मसालमा पनि विभाजनहरु भए ।
२०४१ मा मोहन विक्रमसिंहले पार्टी विभाजन गरे। र नेकपा मसाल नामको पार्टी गठन गरे। अर्कोतर्फ नेकपा मशालको नेतृत्व मोहन वैद्य किरणले गरेका थिए ।
२०४५ सालमा नेकपा मशालको महामन्त्री पुष्पकमल दाहाल प्रचण्ड बने । चौथो महाधिवेशनबाट बनेका मशालहरु फुट्दै विभिन्न पार्टीका रुपमा उदाय । यी पार्टीहरु २०४६ सालमा बनेको वाम मोर्चामा भने सहभागी भएनन्। उनीहरुको छुट्टै मोर्चा बन्यो। नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए ।
बहुदलपछि प्रचण्डले नेतृत्व गरेको मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाइयो। मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए ।
२०५१ मा यो पार्टीमा पनि विभाजन आयो। प्रचण्डको नेतृत्वमा एकता केन्द्रको नाम परिवर्तन गरेर नेकपा माओवादी राखियो। जसले १० वर्षे सशस्त्र द्वन्द्व गर्यो। उता निर्मल लामाले पार्टी नै छोडे ।
नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेलहरुले छुट्टै पार्टी नेकपा (एकता केन्द्र) बनाए । २०५९ मा मोहनविक्रम सिंहको नेकपा मसाल र नारायणकाजीको एकता केन्द्रबीच एकीकरण भयो । यो पार्टी फेरि २०६३ मा विभाजन भयो। नारायाण्काजीहरु नेकपा माओवादीसँग पार्टी एकतामा गए। शान्ति प्रक्रिया शुरु भइसकेपछि नारायणकाजीको माओवादी प्रवेशपछि पार्टीको नाम नेकपा एमाओवादी भयो । जसको नेतृत्व प्रचण्डले गरे। त्यसपछि यो पार्टीमा चित्रबहादुर केसीसँग असहमति राख्ने डिलाराम आचार्यहरु पनि मिसिए। यसपछि यो पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भयो ।
यसैबीचमा मोहन वैद्य किरणले नेकपा (माओवादी केन्द्र) मा पनि विभाजन गरे। उनले क्रान्तिकारी माओवादी पार्टी गठन गरे। यो पार्टीबाट पनि छुट्टिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भुमिगत छ, जसमाथि सरकारले प्रतिबन्ध लगाएको छ । अहिले माओवादी र एसको एकताबाट नेपाली कम्युनिष्ट पार्टीको जन्म भयो । यसको यात्रा कहिलेसम्म जाने हो । अहिले अनुमान लगाउन सकिन्न् ।
भिडियो विश्लेषणः
यो रिपोर्ट विभिन्न सञ्चारमाध्यमा प्रकाशित सामाग्रीको सहयोगमा तयार पारिएको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



