ओलीप्रति भूसालको टिप्पणी, गुन्डुमा लुकेर बस्दै ट्याउँट्याउँ गरेर हुन्छ ?
काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् ।

संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्न नपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने अवस्था छ । अनि तिनले ट्याउट्याउ गरेर हुन्छ,’ भूसालले भने, ‘तिनी र म उस्तै हो । बरु म चाहिँ बाटोमा हिँड्दैछु । त्यसले गर्दा ठूलो र सानो, बहुमत र अल्पमतले मात्र हुन्न ।’
भूसालले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता हेर्ने दौडमा नकुद्न आग्रह गरे । माओवादीसहितको एकता प्रक्रियामा असहमति राख्दै पत्रकार सम्मेलन गरेर नेतृत्व असफल विवादित बन्दै गएको र माओवादी केन्द्रको नेतृत्वमाथि ठुला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयास बाहेक केही हुन नसक्ने बताए।
![]() |
![]() |
![]() |
|---|
उनले माओवादी अध्यक्ष प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालको मिलनलाई लक्षित गर्दै ओरालो लागिरहेका धेरै जनाको एकताले उकालो नचढिने उनको निष्कर्ष सुनाए।
आगामी भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने बताए। उनले थपे, ‘हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ ।’



