कारागार प्रशासनकै आग्रहमा जेलबाट निस्किएको रविको बयान
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दाबी गरेका छन् ।

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा बयान दिँदै लामिछानेले त्यो दिन (भदौ २४ गते) तपाईं बाहिर ननिस्किए प्रदर्शनकारीहरूले कारागारमै आक्रमण र तोडफोड गर्ने अवस्था आउने भनेपछि आफू निस्किएर गएको भनी बयान गरेका हुन् ।
‘त्यो दिन म कारागारमै बसिरहेको थिएँ, प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ,’ लामिछानेको बयान उद्धृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुप¥यो भनेपछि म निस्किएको हुँ ।’
जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूले दुई दिन नख्खु कारागारको स्थलगत निरीक्षण गर्नुका साथै त्यहाँका कैदीहरूको नाईके तथा भाइनाइकेहरूसँग सोधपुछ गरेको थियो । स्थलगत अध्ययन र सोधपुछपछि आयोगले १९ कात्तिकमा लामिछानेको बयान लिएको हो ।
लामिछानेलाई प्रश्न सोध्ने, अनि आयोगका कर्मचारीहरूले जवाफ टाइप गर्ने काम भइरहेको थियो । लामिछानेले ‘तपाईंहरूले यसरी काम गर्दा त निकै ढिला हुन्छ, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुल प्रयोग गरेर बोलेको कुरा लिपिबद्ध हुनेगरी छिटो गर्नुहोस्’ भनेर सुझाब दिए ।
लामिछानेले नै सहजीकरण गरेर मौखिक बयान लिपिबद्ध हुने काम गरे । उनले बोलेको कुरा लिपिबद्ध गरी लामिछानेले नै रुजु गरेपछि उनको औंठाछाप र हस्ताक्षर सहित अभिलेखिकृत गरिएको थियो । उनले गरेको बयान करिब १० पेज भएको छ ।
