बागमतीको कृषि प्रतिवेदन: कृषि उपजले ढाकेको भू–क्षेत्र ५.८ प्रतिशतले घट्यो, कोदो उत्पादन बढ्यो

बागमतीको कृषि प्रतिवेदन: कृषि उपजले ढाकेको भू–क्षेत्र ५.८ प्रतिशतले घट्यो, कोदो उत्पादन बढ्यो
  • २८ कार्तिक २०८२, बिहीबार ०८:२७

काठमाडौं– बागमती प्रदेशमा कृषि क्षेत्रले मिश्रित परिणाम देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बागमती प्रदेशको ‘आर्थिक गतिविधि अध्ययन २०८१–८२ को वार्षिक प्रतिवेदन’ले यस्तो देखाएको हो ।

mulpatra

प्रदेशभरि कृषि उपजले ढाकेको भू–क्षेत्र ५.८ प्रतिशतले घटेको छ । तर, कुल कृषि उत्पादनमा सामान्य वृद्धि (०.८ प्रतिशत) ले देखिएको छ ।

खाद्य तथा अन्य बालीको उत्पादनमा ६.५ प्रतिशतको कमी भए पनि तरकारी र वागवानी बालीले १६.२ प्रतिशत उत्पादन बढेको प्रतिवेदनमा उल्लेख छ । जसले कृषि क्षेत्रमा उत्साह जगाएको छ ।

समीक्षा वर्षमा कोदो उत्पादन ५.२ प्रतिशत बढेको छ । प्रतिवेदन अनुसार धान उत्पादन १.१ प्रतिशत, मकै ५.० प्रतिशत, फापर ५.१ प्रतिशत, गहुँ १८.५ प्रतिशत र जौ ३२.६ प्रतिशत घटेको छ । आलु, भटमास, तेलहन र दलहन बालीमा पनि उल्लेखनीय गिरावट देखिएको छ ।

क्षेत्रफलको दृष्टिले हेर्दा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशत घटेको छ । यसमा जौ, फापर र दलहन बालीले सबैभन्दा बढी घटेको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी छ । चितवनको १३.१ प्रतिशत योगदान देखिन्छ । भक्तपुरको सबैभन्दा कम १.७ प्रतिशत रहेको छ ।

बागमती प्रदेशमा ३ लाख ४५ हजार ३४० हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको छ । जसमध्ये ४७ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । सिँचित क्षेत्रफल २२.६ प्रतिशत वृद्धि भएको छ ।

समिक्षा वर्षमा बैंक तथा वित्तीय संस्थबाट प्रवाह हुने कृषि कर्जा १ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशत बढी हो । बागमतीमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

विभिन्न समस्या र चुनौति औल्याए पनि सम्भावना र अवसरहरु पनि उत्तिकै रहेको प्रतिवेदनमा उल्लेख छ । बागमती प्रदेशको कृषि क्षेत्र मिश्रित परिणाम देखाएको छ । खाद्य बालीमा गिरावट भए पनि तरकारी र मसला बालीले उत्साह बढाएको छ ।

पशुपालन, माछापालन र वनजन्य उत्पादनमा केही वृद्धि भए पनि चुनौती अझै प्रशस्त छन् । सिँचाइ, कृषि कर्जा, व्यावसायीकरण र आधुनिक प्रविधिको पहुँच विस्तारले आगामी वर्षमा उत्पादन र उत्पादकत्व सुधार्न सक्ने संभावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

तरकारी तथा वागवानीको उत्पादन १६.२ प्रतिशत बढेको छ । यस्तो प्रकारको बालीले ढाकेको भू–क्षेत्र पनि ५.१ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

फलफूलको उत्पादन १.९ प्रतिशतले घटेपनि मसला बालीले ४४.१ प्रतिशत वृद्धि भएको छ । मसला बालीमा सिन्धुली जिल्लाको योगदान सबैभन्दा बढी २३.९ प्रतिशत रहेको छ । मकवानपुरको हिस्सा नगन्य छ ।

पशुपालनमा दूध उत्पादन १.२ प्रतिशत, मासु उत्पादन २.९ प्रतिशतले घटेको छ । अण्डा उत्पादन २.७ प्रतिशतले बढेको छ । माछा उत्पादन २.८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबमा चितवन सबै उत्पादनमा अग्रणी छ । तर, रसुवा जिल्लाको हिस्सा न्यूनतम रहेको छ ।

काठ र दाउरा उत्पादन क्रमशः ५२.४ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ । यसले प्रदेशमा काठजन्य उद्योग र निर्माणका लागि स्रोतको उपलब्धता बढेको देखाउँछ ।