१२ लाख २० हजार बीमितले नविकरण गरेन्

१२ लाख २० हजार बीमितले नविकरण गरेन्
  • ४ मंसिर २०८२, बुधबार ०८:३३

काठमाडौं– सवा १२ लाख बढी बीमितले पौने ३७ अर्ब रुपैयाँ बराबरको बीमालेख नविकरण नगरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

mulpatra

असोज मसान्तसम्म आइपुग्दा १२ लाख २० हजार ५४८ बीमितले बीमालेख नगरेका हुन् । यो गत वर्षको तुलनामा १.८६ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा पनि व्यतित बीमालेखको संख्या ११ लाख ९८ हजार २९५ रहेको थियो ।

व्यतित बीमालेख रकमको आकार भने झन्डै ५ प्रतिशत बढेको देखिन्छ । प्राधिकरण अनुसार हाल नविकरण नभई कम्पनीहरुमा होल्ड भएको रकम ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ छ । यो गत वर्ष असोजसम्मको तुलनामा भने ४.८९ प्रतिशत धेरै हो । जबकि, गत वर्षको सोही अवधिमा यस्तो रकम ३५ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको थियो ।

अहिले बीमालेख नविकरण नगर्ने लहर बढ्दो छ । बीमा विज्ञहरूका अनुसार अभिकर्ताहरूको कमजोर सक्रियता र ग्राहकसँगको निरन्तर समन्वय अभावले नविकरण नहुने बीमालेखको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । धेरै बीमितहरू आर्थिक समस्यामा परि प्रिमियम रकम बुझाउन नसक्दा पोलेसी नवीकरणबाट बाहिरिने उनीहरु बताउँछन् । अर्कोतर्फ बीमा सरेन्डर सम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि पुनःनवीकरण नहुने दर उच्च हुने अवस्था बनेको उनीहरूको बुझाइ छ ।

प्राधिकरणका अनुसार बीमालेख नविकरण नगर्ने बढेपनि सरेन्डर रकम भने घटेको छ । तीन महिनामा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । यद्यपि, यो गत वर्षको असोजसम्म तुलनामा भने ८.७९ प्रतिशत धेरै हो ।

गत वर्ष यस्तो रकम ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा २२ हजार ९९९ बीमितले सरेन्डर गरेका छन् । तथ्याङ्क अनुसार सरेन्डर दर ( बीमालेख संख्याको आधारमा) १८.०३ प्रतिशत घटेको छ । गत आवको पहिलो तीन महिनामा २८ हजार ५७ वटा बीमालेख सरेन्डर भएको थियो ।