बारामा आज पनि जेनजी प्रदर्शन उग्र बनेपछि कर्फ्यु आदेश जारी

बारामा आज पनि जेनजी प्रदर्शन उग्र बनेपछि कर्फ्यु आदेश जारी
  • ५ मंसिर २०८२, बिहीबार १३:०२

काठमाडौँ । हिजो भएको झडप र कर्फ्यु आदेशका बिच आज पनि बाराको सिमरा क्षेत्रमा जेनजी युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ । स्थितिलाई मध्यनजर गर्दै प्रशासनले सिमरा क्षेत्रमा आज पनि कर्फ्युको आदेश जारी गरेको छ ।

mulpatra

सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यहि क्रममा एमालेका युवा नेता र जेनजी समुह बीच झडप भएको थियो ।


एमालेको जागरण सभामा जान लागेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतलाई रोक्न विमानस्थल घेरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मे परेको थियो । त्यही क्रममा झडप भएपछि स्थिति काबु बाहिर जाने देखेपछि प्रशासनले कर्फ्यु जारी गरेको थियो ।

हिजो भएको जेनजी युवाहरु माथिको आक्रमणमा संलग्नलाई तत्काल कारवाही गर्ने माग सहित आज पनि विरोध भएको छ ।


सिमरा चोकमा प्रदर्शन गरेपछि वीरगञ्ज पथलैया सडक खण्ड यातायात अवरुद्ध भएका छन् । कर्फ्यु आदेश जारी भएपछि पसल, व्यापार व्यवसाय सबै बन्द भएका छन् ।
उनीहरूले हिजो शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेताहरूको नामै तोकेर किटानी जाहेरी दिनुका साथै उनीहरुमाथि कडा कारबाहीको माग गरेका छन्।