बारामा झडप हुँदा छ प्रहरीसहित १० जना घाइते, राति आठ बजेसम्म कफ्र्यु
काठमाडौं– बाराको सिमरामा तनाव नरोकिएपछि स्थानीय प्रशासनले आज पनि कफ्र्यु आदेश जारी गरेको छ । एमालेनिकट युवा संघ र जेन–जी समूहबीच भइरहेको झडप, तोडफोड तथा प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।

बुधबारको झडपपछि केही समय शान्त देखिएको सिमरामा आज फेरि झडप भएपछि कफ्र्यु लगाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । राति ८ बजेसम्म कफ्र्यु जारी रहने र त्यसपछि सुरक्षाको स्थिति हेरेर थप निर्णय हुने उनले बताए ।
पथलैया चोकदेखि दक्षिण जितपुर लल्का पुलसम्मको वीरगञ्ज –पथलैया राजमार्गको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुश निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ । यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, कूटनीतिक नियोगका सवारी र हवाई टिकट भएका यात्रुहरूलाई भने सुरक्षाकर्मीले सहजीकरण गर्नेछन् ।
अहिले पथलैया, सिमरा चोक, परवानीपुर र औद्योगिक करिडोर क्षेत्रभरि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । आज भएको झपडमा छ जना प्रहरी र चार जना जेन–जी कार्यकर्ता घाइते भएका छन् ।
