यूएईको रोजगारी बन्द हुँदा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो

यूएईको रोजगारी बन्द हुँदा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो
  • ५ मंसिर २०८२, बिहीबार १६:१८

काठमाडौं– कात्तिक महिनामा वैदेशिक रोजगारमा जाने कामदारको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष कात्तिकमा समग्रमा ७५ हजार ५ सय ५५ जना वैदेशिक रोजगारमा गएकोमा यस वर्ष कात्तिक महिनामा ७३ हजार ९४ जना मात्रै गएका छन् ।

mulpatra

कात्तिक महिनाको तुलनामा यस वर्षको कात्तिक महिनामा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारमा जानेको संख्यामा ५७ प्रतिशत गिरावट आएको हो ।

कात्तिकमा सबैभन्दा धेरै साउदी अरेबियामा १५ हजार ७ सय ६९ जना गएकोमा म्यानपावर कम्पनीबाट ३ हजार ५ सय ६५ जना गएका छन् ।

दोस्रोमा रहेकोे कतारमा १३ हजार ७ सय ३२ जना गएकोमा म्यानपावर कम्पनीबाट १ हजार ९ सय ९० जना, युएईमा १३ हजार ३ सय ९९ जना गएकोमा म्यानपावर कम्पनीबाट २ सय ६५ जना गएका छन्, मलेसियामा ९ हजार ८ सय ७२ जना गएकोमा म्यानपावर कम्पनीबाट २ हजार ६ सय ३१ जना गएका छन् ।

त्यसैगरी ५ हजार २ सय ७८ जना गएको कुवेतमा म्यानपावर कम्पनीमार्फत १ हजार ८ सय २२ जना गएका छन् । कात्तिकमा बेलायतमा एक जना, माल्दिभ्समा १२, अल्जेरियामा ६२, मरिससमा १ सय २७, जोर्डनमा १ सय ४७, जापानमा १ सय ९०, बहराइनमा २ सय ७६, साइप्रसमा ५ सय १३ तथा ओमानमा ५ सय ५० जना गएका छन् ।

यसवर्ष साउनदेखि कात्तिकसम्म चार महिनामा २ लाख ७५ हजार ७ सय ६२ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । कात्तिकमा ६ सय ५३ म्यानपावर कम्पनीले कामदार पठाएका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार जेनजी आन्दोलनपछि प्रमुख रोजगार गन्तव्य युएईमा जाने क्रम लगभग शून्य छ भने अर्को मुख्य गन्तव्य मलेसियामा ठुलो संख्यामा जाने म्यानुफ्याक्चरिङ क्षेत्र नखुलेका कारण कामदार जान पाएका छैनन् ।

गत वर्ष कात्तिकमा १४ हजार २९ जना युएई गएकोमा यस वर्ष कात्तिकमा २ सय ६५ जना मात्रै गएका छन् । युरोपेली मुलुकमा सिजनल भिसा भन्दै व्यक्तिगत रूपमा असुरक्षित रूपमा पठाउने र शरणार्थी आवेदन गर्न उक्साउने क्रम बढेको बताइएको छ ।