प्रसाईको आन्दोलन रोक्न सेना परिचालन गर्दै सरकार, प्रहरी नै डराएपछि पहिल्यै सेना खोजे
काठमाडौं– आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ । यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो ।

हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकोले मन्त्रिपरिषद् बैठक सरेको थियो । दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो । तर सरकारले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले घोषणा गरेको आन्दोलन रोक्न सरकारले सेना परिचालन गर्न लागेको एक मन्त्रीले मूलपत्रलाई जानकारी दिए ।
सुरक्षाको वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो । यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो । तर यस पटक सरकारले प्रसाईको आन्दोलनका लागि तत्काल सेना परिचालन गर्नुपर्ने अवस्था आएको ती मन्त्रीको भनाइ छ ।
तर, यसपटक सरकारले सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो । जसका कारण प्रसाईको आन्दोलन भएको प्रहरीकै भनाइ छ । हाल प्रसाई प्रहरी हिरासतमा छन् । सरकारले उनलाई बिना कारण मध्येरातमा पक्रिएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन । निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन् । जसमा दुर्गा प्रसाईको आन्दोलन पनि चुनौतीका रुपमा थपिएको प्रहरीले सरकारलाई जानकारी गराउँदै आएका छन् ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ । सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ ।
