Close

जेनजी आन्दोलनले बीमा क्षेत्रमा साढे २३ अर्बको भार १७ प्रतिशत मात्र भुक्तानी

जेनजी आन्दोलनले बीमा क्षेत्रमा साढे २३ अर्बको भार १७ प्रतिशत मात्र भुक्तानी
  • १४ मंसिर २०८२, शनिबार १६:३८

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीमा साढे २३ अर्ब रुपैयाँ बराबरको दावी परेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

mulpatra

प्राधिरकणका अनुसार जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षति उपर निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको दावी परेको छ । हालसम्म ३ हजार २५५ वटा बीमा दाबी पेश भएको प्राधिकरणले जनाएको छ ।

तर, हालसम्म बीमा कम्पनीहरुले ४ अर्ब २ करोड रुपैयाँ दावी रकम बीमितलाई भुक्तानी गरेका छन् । कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी सो बराबरको भुक्तानी भएको हो । कुल दावीको १७.१५ प्रतिशत भुक्तानी दिएका हुन् ।

आन्दोनलका क्रममा ६९५ वटा घर तथा भवन (सम्पत्ति) मा क्षति पुगेको छ । सोही क्षति उपर १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा दावी पेश भउको छ । त्यसमा कम्पनीहरुले ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

प्राधिकरणका अनुसार आन्दोलनमा क्षति भएका सवारीधनीले पनि ८४ करोड ८५ लाख रुपैयाँ दावी भुक्तानी भएका छन् । मोटर बीमातर्फ ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरको २ हजार २९५ वटा दावी पेश भएको थियो ।

यता, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ४ लाख दाबी परेको छ । त्यसमध्ये करिव ६ करोड ६९ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तो बीमा तर्फ २०९ वटा दाबी पेश भएका थिए ।

यस्तै, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ रकममध्ये करिव ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको ३९ करोड १८ लाख रुपैयाँमध्ये ३९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी सहित दाबी गरेको छ । कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।