Close

गत असोजको बेमौसमी वर्षाले करिब ४ अर्बको कृषिवाली क्षति

गत असोजको बेमौसमी वर्षाले करिब ४ अर्बको कृषिवाली क्षति
  • २१ मंसिर २०८२, शनिबार १०:२४

काठमाडौं– गत असोज १७ देखि १९ गतेसम्म गएको बेमौसमी वर्षाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार देशभर कृषि क्षेत्रमा बेमौसमी वर्षाले ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपैयाँबराबरको क्षति गरेको हो ।

mulpatra

कृषि क्षेत्रमा ठूलो क्षति हुँदा धान, उखु, तरकारी र फलफूल उत्पादनमा करिब १ लाख २७ हजार ३८३ टन उत्पादन घट्ने अनुमान गरेको छ । प्रतिवदेनअनुसार पाँच क्षेत्रमा ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको बालीमा क्षति हुँदा मधेस प्रदेशमा मात्र सबैभन्दा बढी ३ अर्ब २२ करोड ४७ लाख रुपैयाँ क्षति भएको जनाएको छ ।

देशभर परेको बेमौसमी वर्षाको कारण कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति मूल्यांकन र प्रारम्भिक तथ्यांक संकलनका लागि मन्त्रालयका सह सचिव जगनाथ तिवारीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको थियो ।

उक्त अध्ययन समितिले तयार पारेको प्रतिवदेनले बेमौसमी वर्षाले पाँच वटा प्रदेशमा करिब १५ हजार ४९९ हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न बाली मात्र करिब ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको आर्थिक क्षति पु¥याएको अनुमान गरिएको छ ।

यस्तै, पशुपन्छी, मत्स्य तथा घाँस खेतीतर्फ १६ करोड १५ लाख, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ १ करोड ६ लाख रुपैयाँको क्षति भएको छ । यस्तै सरकारी कार्यालयतर्फ ५८ लाख, जमिन कटानतर्फ ३ करोड ७१ लाख र बिउविजनतर्फ २ करोड ८१ लाख बराबरको क्षति गरी ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

यस्तै बेमौसमी वर्षाका कारण तरकारीमा सबैभन्दा बढी १ अर्ब २५ करोड ७१ लाख बराबरको क्षति पुगेको छ । यो कूल क्षतिको ३५.४५ प्रतिशत हो । अध्ययन प्रतिवदेनले सबैभन्दा बढी मधेस प्रदेशमा ३ अर्ब ३५ करोड ५५ लाख क्षति भएको छ । यस प्रदेशका आठै जिल्लामा रोपिएको धानबाली र क्षति हुनुका साथै तरकारी, फलफूल, उखु र पशुधनसमेत प्रभावित भएको अध्ययनले देखाएको छ ।

प्रतिवदेन अनुसार कोशी प्रदेशमा ३६ करोड ८३ लाख रुपैयाँ क्षति भएको छ । जसमा धान, तरकारी, अलैंची, अदुवा, केरा, आलु, चिया र कोदोबालीमा क्षति भएको छ । बागमतीमा २ करोड ४ लाख , गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको छ । यस्तै, कोशी, मधेश, बागमतीमा, गण्डकी र लुम्बिनी प्रदेशका किसानहरूको धानबाली, तरकारी, उखु र फलफूल बाली उत्पादनमा क्षति देखिएको जनाएको छ ।

वेमौसमी वर्षाको प्रभावका कारण यस वर्ष धानको उत्पादनमा गत वर्षको तुलनामा करिब २७ हजार ७५९ टन धान उत्पादनमा कमी आउने सक्ने अनुमान गरेको छ । प्रतिवदेन अनुसार मधेस प्रदेशमा करिब ९ हजार ३८१ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति भएको छ । यसबाट करिब १ लाख २० हजार ९७९ टन धान, तरकारी, फलफूल र उखुको उत्पादन नोक्सान भएको अनुमान गरिएको छ ।

यसका कारण कृषकले करिब ३ अर्ब २२ करोड ४७ लाख १९ हजार बराबरको आर्थिक क्षति व्यहोर्नु परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोशी प्रदेशमा करिब १ हजार ३३९ हेक्टर क्षेत्रफलमा क्षति भएको र यस क्षेत्रबाट करिब ५ हजार ९८३ टन विभिन्न बालीहरूको उत्पादनमा कमी आउने जनाएको छ । जसबाट करिब २९ करोड ७८ लाख बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा क्षति न्यून भएको जनाएको छ ।