हजारका नोटमा पनि चुच्चे नक्सा आउँदै, डिजाइन बदलेर चीनमा छापिने
काठमाडौँ– १ हजार दरका नेपाली नोटमा पनि कालापानी, लिपुलेख र लिम्पियाधूरा समेटिएको नक्सा (चुच्चे नक्सा) छापिने भएको छ । नेपाल राष्ट्र बैंकले चीनको एउटा कम्पनीसँग एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने सम्झौता गरेको छ ।

भर्खरैमात्र रू. १०० दरका नोटमा चुच्चे नक्सा छापिएर आएको छ । अब त्यो नक्सा हजार रुपैयाँको नोटमा पनि देख्न पाइने भएको हो ।
यसअघि उक्त नोट छाप्ने ठेक्का तोडिएपछि नेपालमा १००, १००० लगायतका दरको नोट अभाव भएको थियो । तर पुनः ठेक्का खोल्नु अघि केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ‘चुच्चे नक्सा समेटेरमात्रै नोट छाप्न’ राष्ट्र बैंकलाई निर्देशन दियो । त्यसपछि केन्द्रिय बैंकले नोटको डिजाइन परिवर्तन गर्न मन्त्री परिषदमा प्रस्ताव लगेर निर्णय गराएपछि मात्रै नयाँ नोट छाप्ने प्रक्रिया सुरु भएको हो ।
‘रीतपूर्वक पेश हुन आएको न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता चाइना ब्याङ्क नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, पैचिङ, चीनसँग करार सम्झौता भएको’ राष्ट्र बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।
गच विहीबार यस्तो करार सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ । यति नोट छाप्नका लागि राष्ट्र बैंकले चिनियाँ सेक्युरिटी प्रिण्टिङ प्रेसलाई १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (करीब रू. २ अर्ब ४३ करोड १२ लाख ३३ हजार) तिर्ने भएको छ । यस आधारमा १००० रुपैयाँको एउटा नोट छाप्नका लागि राष्ट्र बैंकले ५ रुपैयाँ ६५ पैसा २ दाम हाराहारी खर्चगर्ने देखिएको छ ।
केन्द्रिय बैंकले नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति गएको भदौ १० मा द राइजिङ नेपाल दैनिकमा सूचना प्रकाशित गरेको थियो ।
नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ को दफा ५४ र सार्वजनिक खरिद नियमावली, २०६४ को दफा १३७ मा यस प्रकारको खरीदसम्बन्धी जानकारी सार्वजनिक गर्नुपर्ने प्रावधानका आधारमा राष्ट्र बैंकले सूचना प्रकाशन गरेर यस्तो बताएको हो ।
