निर्जीवन बीमा व्यापारमा तीव्र प्रतिस्पर्धा, कुन कम्पनी अगाडी
काठमाडौं– दावी भुक्तानीको चाप रहेका निर्जीवन बीमा कम्पनीहरुको व्यापार वृद्धि पनि दोहोरो अंकमा देखिएको छ । चार महिनामै पौने १६ अर्ब हाराहारीको व्यवसाय भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको पहिलो चार महिनामा १४ निर्जीवन बीमकले १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा १२.४२ प्रतिशत धेरै हो । जबकि, गत आवको कात्तिक मसान्तसम्म ती कम्पनीहरुले १४ अर्ब ९ कोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
तीन वटा बाहेकका सबै कम्पनीहरुले व्यापार बढाएका छन् । व्यापारमा कम्पनीहरुबीच निकै प्रतिस्पर्धा पनि देखिएको छ ।
समिक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जबकि, गत आवको सोही अवधिमा भने पनि १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
दोस्रो सूचीमा रहेको शिखर इन्स्योरेन्स पनि १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।
शिखरको व्यापार २३.२८ प्रतिशत वृद्धि भएको छ । गत आवको कात्तिक मसान्तसम्म कम्पनीले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बराबरको मात्रै व्यवसाय भित्र्याएको थियो । कात्तिकसम्मको आँकडा अनुसार सलिको र शिखरको उच्च प्रतिस्पर्धा देखिएको छ । प्रायः निर्जीवन बीमामा शिखर नै पहिलो सूचीमा हुने गरेको छ ।
यी दुई कम्पनीले हिमालयन एभरेष्टले पच्छ्याएको देखिन्छ । हिमालयनले पनि चार महिनामा १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएको छ । जबकि, गत आवको सोही अवधिमा १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको व्यापार ३९.६६ प्रतिशत बढेको देखिन्छ ।
चौंथो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापार पनि ५.८२ प्रतिशत बढेर १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सो अवधिमा कम्पनीले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
व्यवसाय बढाउन भने हिमालयन एभरेष्ट, एनएलजी, सानिामा जिआइसी, युनाईटेड अजोड शीर्ष सूचीमा छन् । समिक्षा अवधिमा एनएलजीको व्यापार ३४.०१ प्रतिशत वृद्धि भई १ अर्ब २६ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, सानिमा जिआइसीको व्यापार पनि ३०.९३ प्रतिशत बढेर १ अर्ब २ करोड ३ लाख र युनाइटेड अजोडको २७.८० प्रतिशत बढेर १ अर्ब ७ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
अधिकांश कम्पनीको व्यापार बढेपनि राष्ट्रिय बीमा कम्पनीसहित तीन वटाको भने गिरावट आएको छ । समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको व्यापार २८.९३ प्रतिशत घटेर ४३ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ । यस्तै, ओरियण्टलको पनि सामान्य ०.५० प्रतिशत र नेकोको ०.३९ प्रतिशत घटेर क्रमशः ९२ करोड ४० लाख र १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।
प्राधिकरणका अनुसार आइजीआई प्रुडेन्सियलको व्यापार १२.२२ प्रतिशत बढेर १ अर्ब २७ करोड ३६ लाख, नेपाल इन्स्योरेन्सको १०.०९ प्रतिशत बढेर ८६ करोड ६२ लाख, प्रभू इन्स्योरेन्सको ४.७१ प्रतिशत बढेर ६५ करोड ७१ लाख र नेशनल इन्स्योरेन्सको ३.९० प्रतिशत बढेर ५० करोड ५ लाख रुपैयाँ कायम भएको छ ।
