बीपी राजमार्गको पुनर्निर्माण धमाधम अवलोकनका लागि पुगे कुलमान
काठमाडौं– २ वर्षको लगातार बाढीपहिरोले क्षति पु¥याएको बीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।

क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् ।
सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि त्यहाँ पुगेका थिए । घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका छन् ।
हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरू भएसँगै काम नगर्ने भएकाले मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम अगाडि नै आवश्यक संरचना बनाउन भनेका छन् । जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न उनले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
काठमाडौंलाई पूर्वी क्षेत्रसँग जोड्ने लाइफलाइन सडक बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको यो सडक गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिँदैछ ।
