विश्व माटो दिवस: ५४.१३ प्रतिशत माटोमा अम्लीयपन भेटियो, उत्पादनमा ह्रास
काठमाडौं– कृषि विभागले १२ औँ विश्व माटो दिवस मनाएको छ । ‘स्वस्थ माटो, स्वस्थ गाउँ सहर’ मुल नारासहित शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी १२ औँ विश्व माटो दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ ।

विभागका अनुसार उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकतावद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिएको छ ।
कुल ३८ हजार ९३२ वटा माटोको नमुना परीक्षण गर्दा ५४.१३ प्रतिशत माटोमा अम्लीयपन देखिएको छ । यस्तै २८.४७ प्रतिशत माटो तटस्थ र १७.३७ प्रतिशत माटो क्षारीय प्रकृतिको पाइएको छ । पूर्वी नेपालको माटोभन्दा पश्चिम नेपालको तुलनामा बढी अम्लीयपन पाइएको विभागले जनाएको छ ।
विभागको अनुसार डिजिटल माटो नक्साको तथ्यांकअनुसार परीक्षण गरेको कुल माटोमध्ये परीक्षण गर्दा ५४.१३ प्रतिशत माटोमा अम्लीयपन देखिएको हो । डिजिटल माटो नक्साको तथ्यांकअनुसार कुल माटोमा करिब ३७ प्रतिशत माटोमा प्रांगारिक पदार्थ कम पाइएको छ भने ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको छ । विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्रांगारिक पदार्थको मात्रा कम छ ।
विवभागका अनुसार नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च पाइएको छ ।
गत वर्ष ३६.९ प्रतिशत माटोमा प्रांगारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्रांगारिक पदार्थ पाईएको थियो । नेपालको माटोमा औसत २.५९ प्रतिशत प्रांगारिक पदार्थ पाइएको छ । गत वर्ष नेपालको माटोमा औसत २.७७ प्रतिशत प्रांगारिक पदार्थ पाइएको थियो ।
तराईको माटोमा हिमाल र पहाडको तुलनामा नाइट्रोजनको मात्रा कम पाइएको छ । फस्फोरसको स्तर करिब ३५ प्रतिशत माटोमा कम, २१ प्रतिशत माटोमा मध्यम र ४४ प्रतिशत माटोमा उच्च पाइएको छ ।
पोटासको स्तर करिब २८ प्रतिशत माटोमा कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च रहेको देखिन्छ । सुक्ष्म पोषक तत्वका दृष्टिले मोलिब्डेनम, जिंग र बोरोनको मात्रा सामान्यतया कम पाइएको छ । बोरोनको मात्रा विशेषगरी पूर्वी नेपालमा न्यून छ । साथै, सल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम देखिएको छ ।
गत वर्ष ३० हजार ५४८ वटा माटोको नमुना परीक्षण गर्दा ६६ प्रतिशत माटो अम्लीयपन पाइएको थियो । २९ प्रतिशत माटो तटस्थ र ५ प्रतिशत माटो क्षारीय प्रकृतिको पाइएको थियो । माटोमा अम्लीयपन बढी हुँदा कृषि बालीको उत्पादनमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् ।
खाद्य तथा कृषि संगठनको सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ औं महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउने कार्यक्रमको सुरुवात भएको हो ।
