आइतबारदेखि सर्वोच्च अदालतको नयाँ भवनबाट इजलास सञ्चालन
काठमाडौँ– सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालनमा आउने भएको छ । भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएकोमा आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै पूर्ण रूपमा सञ्चालन हुनेछ ।

जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो । इजलास बस्ने ठाउँ अभावका कारण हाल सीमित मुद्दाको मात्रै पेसी तोकेर सुनुवाइ हुँदै आइरहेको छ । सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुँदैछ ।
‘सर्वोच्च अदालतको नयाँ भवन निर्माणको कार्य पूरा नभए पनि हाल अस्थायी रूपमा ६ वटा थप इजलास सञ्चालनमा ल्याउन खोजेका छौँ,’ सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, ‘इजलास सञ्चालनका लागि फर्निसिङको काम सम्पन्न भइसकेको छ, अब बिस्तारै फाँटहरू पनि बिस्तार गर्दै लैजाने योजनामा छौँ ।‘
![]() |
![]() |
![]() |
|---|
भवन निर्माण कम्पनीलाई ठेक्काको म्याद चैतसम्म भए पनि तत्काल इजलास गठन गर्नका लागि सीमित कोठा इजलास सञ्चालन गर्नका लागि काम गर्न निर्देशन दिइएको थियो । टेबल, कुर्सी, इन्टरनेट जडानको काम सम्पन्न भइसकेको छ ।
हाल सर्वोच्च अदालतमा २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्ण रूपमा इजलास सञ्चालन हुन सकिरहेको छैन । अदालतमा ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको छ ।



