पोखरा विमानस्थलमा अनियमिततामा पूर्वमन्त्रीदेखि पूर्वसचिवसहित ५५ माथि मुद्दा
काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक चिनियाँ ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी’ समेत विपक्षीको सूचीमा परेको छ । अख्तियारले ८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको विशेष अदालतले जनाएको छ ।
प्रतिवादीमा दिवंगत पोस्टबहादुर बोगटीकी पत्नी राममाया बोगटी, रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलगायतका पूर्वमन्त्री छन् । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि आरोप लगाइएको छ ।
विमानस्थल अध्ययन कार्यदलका तत्कालीन संयोजक तथा सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीसहित १० पूर्वसचिव समेत प्रतिवादी सूचिमा परेका छन् ।
अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ ।
पूर्वमन्त्रीमध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ । उनी त्यसबेला पर्यटनमन्त्री थिए । त्यस्तै कांग्रेस नेता शामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा छैनन् ।
एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य थिए र उनी एमालेको उपाध्यक्षका दाबेदार समेत हुन् । उनीपछि झलनाथ खनालका स्वकीय सचिव दिपक अमात्य पर्यटनमन्त्री बनेका थिए ।
रामकुमार श्रेष्ठ भने खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा पर्यटनमन्त्री बनेका थिए । श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा पनि विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।
अख्तियारले नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएको छ । त्यस्तै तत्कालीन सचिव सुरेशमान श्रेष्ठ,कार्यदल संयोजक तथा सर्बोच्चका पूर्व रजिष्टार रामकृष्ण तिमल्सिनालगायत त्यसबेलाका उच्च अधिकारीको ठूलो संख्या यो प्रकरणमा परेका छन् ।
