एकाएक कसरी ‘हट एसेट’ बन्यो चाँदी
काठमाडौं– पछिल्लो केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य लगातार उकालो लाग्दै इतिहासकै उच्च बिन्दुमा पुगेको छ।

यस साता मात्रै चाँदीले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा ६० अमेरिकी डलर प्रति औन्समा कारोबार भएको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ६२ डलर प्रति औन्स नाघेको अन्तर्राष्ट्रिय बजार विवरणहरूले देखाएका छन्।
नेपालमा समेत यसको प्रत्यक्ष असर देखिएको छ। बिहिबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको छ। सुन–चाँदी बजारका व्यवसायीका अनुसार विश्व बजारमा भइरहेको तीव्र वृद्धिले नेपाली बजारमा समेत मूल्यलाई लगातार उच्च बनाएको छ।
विशेषज्ञहरू भन्छन्, विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, कमजोर अमेरिकी डलर, न्यून बैंक ब्याजदर र सेयर बजारको गिरावटले लगानीकर्ताहरू सुरक्षित विकल्प खोज्दै बहुमूल्य धातुतर्फ आकर्षित भइरहेका छन्। चाँदीले पछिल्लो समय सुनभन्दा बढी प्रतिफल दिने सम्भावना देखाएपछि बजारमा यसको आकर्षण झन् बढेको छ।
अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाएसँगै औद्योगिक क्षेत्र विशेषगरी प्रविधि उद्योगमा चाँदीको माग अत्यधिक बढेकोले मूल्यमा थप उछाल आएको विश्लेषण छ।
विद्युत् सञ्चारण, सेमीकन्डक्टर, सोलार प्यानल, ब्याट्री, र इलेक्ट्रिक सवारीसाधन (ईभी) जस्ता क्षेत्रका लागि चाँदी अपरिहार्य बन्दै गएको छ। आपूर्ति भने यसअनुसार बढ्न नसक्दा बजारमा आपूर्ति श्रृङ्खलामा अवरोध सिर्जना भई मूल्य अझ चुलिएको छ।
विशेषज्ञहरू भन्छन्, विश्वकै ठूलो हिस्सा चाँदी अन्य धातु सिसा, कपर वा सुन खननको सहउत्पाद भएकाले यसको उत्पादन तत्काल बढाउन सम्भव हुँदैन।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिअन्तर्गत चाँदीमा पनि शुल्क लगाउने सम्भावना बढेपछि अमेरिकामा अग्रिम भण्डारण तीव्र बनेको छ। अमेरिकाले आफ्नो खपतको करिब दुई–तिहाइ चाँदी आयात गर्ने भएकाले सम्भावित शुल्कको डरले अमेरिकी उद्योगी–व्यवसायीको खरिद दबाबले विश्व बजारमा अभाव उत्पन्न गर्दै मूल्यलाई माथि धकेलेको छ।
प्रविधि क्रान्ति र एआई विस्तारसँगै चाँदी ‘एआई अर्थतन्त्रको महत्वपूर्ण धातु’ बन्दै गएको विशेषज्ञहरूको निष्कर्ष छ। ‘द सिल्भर इन्स्टिट्युट’ र ‘अक्सफोर्ड इकोनोमिक्स’ को ताजा रिपोर्टअनुसार उच्च क्षमता भएका जीपीयु, टीपीयु, रोबोटिक्स, स्वतःचालित सवारी, डेटा–सेन्टर र एज–डिभाइसहरूमा प्रयोग हुने जडान र प्याकेजिङ सामग्रीका लागि चाँदी अत्यावश्यक घटक बनेको छ। एआई प्रविधिको फैलावटसँगै आगामी वर्षहरूमा चाँदीको माग झनै उकालो लाग्ने अनुमान गरिएको छ।
तर, चाँदीमा लगानी जोखिमरहित भने छैन। गोल्डम्यान स्याक्सले हालै प्रकाशित रिपोर्टमा चाँदी अत्यधिक औद्योगिक उपयोग हुने धातु भएकाले यसको मूल्य सुनभन्दा बढी अस्थिर हुने चेतावनी दिएको छ। सुनजस्तो केन्द्रीय बैंकहरूको ठूलो खरिद समर्थन नपाउने भएकाले चाँदी दीर्घकालीन ‘सुरक्षित आश्रय’ सम्पत्तिको रूपमा पूर्ण रूपमा स्थिर नहुने विश्लेषण समेत गरिएको छ।
