भक्तपुरबाट शुरु हुँदै एमालेको ११ औं महाधिवेशन

भक्तपुरबाट शुरु हुँदै एमालेको ११ औं महाधिवेशन
  • २८ मंसिर २०८२, शनिबार ०८:३२

काठमाडौं । आज भक्तपुरको सल्लाघारीमा उद्घाटन कार्यक्रम गरेसँगै नेकपा एमालेको ११ औँ महाधिवेशन शुरु हुने भएको छ । उद्घाटन सत्रका लागि भक्तपुरको सल्लाघारी रोजेको एमालेले बन्दसत्रको कार्यक्रम भने काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ ।

mulpatra

विभिन्न जातजातिका २०० बढी कला संस्कृति झल्काउने झाँकी सहित भक्तपुरमा गर्न लागेको कार्यक्रममा १ लाख जति मानिस उपस्थिति रहने आंकलन गरिएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा १६ वटा राजनीतिक दललाई आमन्त्रण गरिएको समेत बताएका छन् ।

विदेशी कम्युनिष्ट नेताहरु समेत आउने गरेकामा यसपालि एमालले विदेशी पाहुनालाई बोलाएको छैन भने नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड कर्णाली सभाका लागि सुर्खेत जाने भएपछि सहभागी नहुने भएका छन् ।

महाधिवेशनमा एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।