विश्वकप फुटबल–२०२६ को टिकट, एक खेलको सबैभन्दा सस्तो शुल्क ९ हजार
काठमाडौं– फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ विश्वकपका सबै १०४ खेलका लागि सीमित सङ्ख्यामा टिकट सार्वजनिक गरेको छ । खेलको सबैभन्दा सस्तो टिकटको मूल्य ८ हजार ७०० देखि ८ हजार ७५० नेपाली रुपैयाँ (करिब ४५ पाउन्ड) तोकिएको छ ।

प्रतियोगिताको टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै आलोचना बढेपछि फिफाले यो निर्णय लिएको हो। यो नयाँ मूल्यका टिकट विश्वकपमा छनोट भएका देशका समर्थकहरूका लागि उपलब्ध गराइनेछ ।
बेलायतका प्रधानमन्त्री सर कीअर स्टार्मरले फिफाको निर्णयको स्वागत गरे पनि थप कदम चाल्न आग्रह गरे। उनले भने, “म आफैँ इंग्ल्यान्डका खेल हेर्न टिकटका लागि बचत गर्ने समर्थक हुँ। विश्वकपले वास्तविक समर्थकहरूसँगको सम्बन्ध नटुटोस् भन्ने हो भने फिफाले टिकट अझ सस्तो बनाउनुपर्छ।”
यसअघि रहेको मूल्य संरचनाअनुसार इंग्ल्यान्डले फाइनलसम्मका सबै खेल हेर्न चाहने समर्थकलाई ५,००० पाउन्डभन्दा बढी खर्च लाग्ने गरेको थियो ।
नयाँ ४५ पाउन्डको टिकट ‘सपोर्टर एन्ट्री टियर’ अन्तर्गत पर्छ, जुन सबैभन्दा सस्तो श्रेणी हो। यो प्रत्येक सहभागी देशको फुटबल संघको कुल टिकट कोटाको १० प्रतिशत हुनेछ। इंग्ल्यान्ड र स्कटल्यान्डका हकमा समूह चरणका प्रत्येक खेलका लागि करिब ४०० टिकट मात्र यस मूल्यमा उपलब्ध हुनेछन्।
क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने २०२६ विश्वकपका लागि टिकट मूल्यबारे कतारको दोहामा भएको बैठकपछि फिफाले संशोधित निर्णय सार्वजनिक गरेको हो। फिफाको विज्ञप्तिमा भनिएको छ, “टिकट वितरण सम्बन्धित राष्ट्रिय फुटबल संघहरूले नै गर्नेछन् र ती संघहरूले आफ्ना निष्ठावान समर्थकलाई प्राथमिकता दिनुपर्नेछ।”
फिफाका अनुसार प्रत्येक सहभागी संघको कुल टिकट कोटामध्ये ५० प्रतिशत सस्तो श्रेणीमा पर्नेछ, ४०प्रतिशत ‘सपोर्टर भ्यालु टियर’ र १० प्रतिशत ‘सपोर्टर एन्ट्री टियर’, बाँकी टिकट मध्यम र प्रिमियम श्रेणीमा बाँडिने छन्।
२०२२ को कतार विश्वकपमा समूह चरणका खेलको न्यूनतम टिकट मूल्य ६८.५० पाउन्ड थियो। तर २०२६ का लागि प्रारम्भिक योजनामा इंग्ल्यान्ड र स्कटल्यान्डका खेलहरूका टिकट १९८ पाउन्डदेखि ५२३ पाउन्डसम्म पर्ने देखिएको थियो। फाइनल खेलको सस्तो टिकट नै ३,११९ पाउन्ड तोकिएको छ, जुन कतार विश्वकपको भन्दा सात गुणा महँगो हो।
