Close

Recent Posts

भूकम्पको जोखिम कम हुने बाँसको घर बनाउन सरकारले नै जारी गर्यो मार्गदर्शन,

भूकम्पको जोखिम कम हुने बाँसको घर बनाउन सरकारले नै जारी गर्यो मार्गदर्शन,
  • ५ पुष २०८२, शनिबार १५:२५

काठमाडौं– बाँसबाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ विमोचन भएको छ । शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको यस्तो मार्गदर्शन तयार पारिएको हो ।

mulpatra

नेपालमा २०७२ को महाभूम्पपश्चात् बाँसबाट निर्माण हुने भवनको बारेमा पैरवी सुरु भएको थियो । त्यसबेला एउटा गैह्रसरकारी संस्थाले ललितपुरको पाटनढोकामा मनदपुरस्कार पुस्तकालय नै बाँस र भग्नावशेषको माटो प्रयोग गरेर तयार पारिदिएको थियो ।

त्यस बखतको नमुना घरका रुपमा निर्मित उक्त संरचनामा अहिले पनि मदनपुरस्कार गुठीले सञ्चालन गरेको पुस्तकालय छँदैछ । यस्ता विभिन्न नमुनाहरुको सफलतालाई लिएर अहिले सरकारले नै बाँसबाट भवन निर्माण गर्नसक्ने मार्गदर्शन तयार पारेको हो ।
एउटा मार्गदर्शन बनाउनै १० वर्ष लगाएको भए पनि अब यसले बाँसबा घरहरु निर्माण गर्न भने बैधानिक रुपमै बाटो खोलिदिएको छ ।
उक्त मार्गदर्शन विमोचन कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधी, ईन्जिनियरिङ्ग समुदायका विज्ञहरु समेतको उपस्थिति थियो ।

कार्यक्रममा मार्गदर्शन विमोचन गर्न पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङले रैथाने नेपाली निर्माण सामाग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताए । उनले निर्माण सामाग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सिर्जना भई ग्रामीण अर्थतन्त्रसमेत मजबूत हुन सक्ने तथा आयातित निर्माण सामाग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न समेत मद्दत गर्न सक्ने बताए ।

आकासबाट हेर्दा नेपालका बस्तीहरुको छानो जस्ताले ढाकेको देखिएकोमा उनले बाँसकै प्रयोगवाट जस्ताको विकल्प समेत खोज्न विज्ञहरुलाई सुझाएका छन् । बाँसको व्यावसायिक खेतिलाई प्रोत्साहन गर्दै यसलाई हरित निर्माण सामाग्रीको रुपमा प्रयोग गर्नाले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न सकिने उनको बुझाइ छ ।

नेपालमा जलविद्युत् लगायतका निर्माण कम्पनीहरुले अस्थायी आवास (क्याम्प)हरु निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्ने भनेर लामो समयदेखि माग उठ्दै आएको थियो । यसले नेपालमा बाँसको ‘ट्रिटमेन्ट’ गर्ने व्यवस्था हुने र किसानहरुले पनि मूल्य पाउने भनेर लामो समयदेखि माग उठ्दै आएको थियो । अहिले केही स–साना रिसोर्ट तथा खाजाघरहरुले बाँसको प्रयोग गर्ने गरेको भए पनि ठूला र बृहत्तर परियोजनामा यसको प्रयोग नगन्य छ ।

ह्याविटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्यप्रति शहरी विकास मन्त्रालयलाई बधाई एवम् धन्यवाद दिइन् । उनले भविष्यमा बाँसको प्रवद्र्धनात्मक कार्यहरुमा संस्थाबाट सदैब सहयोग रहने कुरा प्रतिबद्धता पनि जनाइन् ।

मार्गदर्शनले बाँसको कटाई, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगलगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्वारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने ह्याबिटाट प्रमुख स्थापितको भनाइ छ ।

उक्त मार्गदर्शनमा सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।