तराईमा शीतलहर चलेपछि जनजीवन कष्टकर
काठमाडौं– पश्चिम तराईमा बुधबार बिहानैबाट शीतलहर चलेपछि जनजीवन कष्टकर बनेको छ । पुस महिना लागेसँगै शुरु हुन थालेको बाक्लो हुस्सु, कुहिरो लागे पनि बुधबार शीतलहरले थप चिसो बढाएको हो । पुसदेखि नै हुस्सु, कुहिरो र शीतलहरबाट केही दिनयता मुलुकको बिशेषगरी तराई क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् ।

लुम्बिनी प्रदेशमा रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, दाङ, बर्दिया जिल्ला बढी प्रभावित भएको छ । चिसोले सामान्य दैनिक जनजीवन प्रभावित मात्रै होइन, कष्टकरसमेत बन्न थालेको छ । बाक्लो हुस्सु र कुहिरोले ठूला राजमार्ग लगायत सडकमा आवागमन घट्न थालेको छ । दुर्घटनाको घटना बढ्न थालेका छन् । पहिले पहिले तराई क्षेत्रमा लाग्ने शीतलहर यो पटक पहाडी क्षेत्रमा पनि परेको छ । दाङको घोराहीमा शीतलहर परेर आश्चर्य पारेको त्यहाँस्थित पत्रकार नरेन्द्र केसी बताउँछन् ।
हुस्सु कुहिरो र शीतलहरबाट विशेषगरी रुपन्देहीको भैरहवा–बुटवल सडक खण्ड र हुलाकी राजमार्गमा दुर्घटनाको घटना र जोखिम धेरै हुने गरेको छ । सडकमा सहजै हिंड्न नसकिने र शीतलहरले सडक चिप्लेर सवारीसाधन अनियन्त्रित भएर दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।
हुस्सु कुहिरो र शीतलहरले एक्कासी चिसो बढेपछि मानव स्वास्थ्यमा पनि असर पार्न थालेको छ । चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा र दीर्घ बिरामीलाई बढी समस्या पारेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण विमान उडान र अवतरणका लागि आवश्यक भिजिविलिटी नपुगेर हवाई उडानसमेत रद्ध हुन थालेपछि हवाई यात्रु पनि बदलिँदो मौसमका कारण समस्यामा पर्न थालेका छन् । गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार पुस लागेसँगै धेरैजसो समय हुस्यु लागेर उडान प्रभावित भएका छन् ।
