१ करोड ८९ लाख बढी भए मतदाता
काठमाडौँ । सरकारले तोकेको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। शनिबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाताको संख्यामा सो कुरा खुलाएको छ ।

२०८२ फागुन २० गतेसम्म १८ बर्ष उमेर पुरा हुने नागरिहरुको विवरणलाई अद्यावधिक गरि अन्तिम मतदाता नामावलीमा प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार प्रकाशित अन्तिम नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सय गरि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता समावेश रहेका छन् ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेलाभन्दा यसपटक ९ लाख १५ हजार १ सय १९ जना मतदाता वृद्धि भएका छन् । त्यतिबेला १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता थिए । पछिल्ला तीन वर्षमा ९ लाखभन्दा बढी मतदाता थपिएका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरुको विवरणलाई अद्यावधिक गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो ।
अन्तिम मतदाता नामावलीसँगै आयोगले मतदानस्थल र मतदान केन्द्रको पनि टुंगो लगाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ ।

