पुर्वगृहमन्त्री लेखक जेनजी आन्दोलनका घटनाबारे आज आयोगमा बयान दिँदै
काठमाडौँ । २३ र २४ भदौको जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगका समक्ष तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक बयानका लागि जाने भएका छन । उनलाई आयोगले पत्राचार गरेपछि आज सोमबार आयोगमा उपस्थित हुन लागेका हुन् ।

तत्कालिन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकलाई बयानको लागि पत्राचार गरेपछि जाने नजाने भन्ने विषयमा लेखक परामर्शमा थिए । यस बीच पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत उनलाई बयानको लागि आयोगमा जान सुझाव दिईएको थियो ।
लेखकको बयान पछि आयोगले तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाउने तयारी गरेको छ ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्। पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान र भदौको घटनासँग जोडिएका विविध पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ।
