सुनसरीको लौकही तनावग्रस्त, सशस्त्र प्रहरी बिटमा आगजनी
काठमाडौं । सुनसरीको लौकहीबजारमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएपछि तनावग्रस्त बनेको छ । हिजो राति सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षिय विजय साहको मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका हुन् ।

गएराति तस्करी नियन्त्रणका लागि खटिएको प्रहरीले चेकजाँच गर्दा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको थियो । गोली लागि एक जनाको मृत्य भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले शाहको मृत्यु भएको जनाएको छ ।
स्थानीयवासीले शव उठाउन समेत अवरोध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् ।
स्थानीयले विरोध गर्न थालेपछि प्रहरीले रोक्न खोज्दै गर्दा पनि प्रदर्शनकारीले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् । भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।
भिड र प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
