इन्धन भाउ घटेपछि उड्डयन प्राधिकरणले भाडा घट्यो
काठमाडौं– नेपाल आयल निगमले पुस १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि देशभरका आन्तरिक उडानहरूको फ्युल सर्चार्जमा उल्लेखनीय कमी आएको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर ४२ अमेरिकी डलर मूल्य घटाएसँगै यसले यात्रुहरूले तिर्नुपर्ने टिकटको कुल मूल्यमा प्रत्यक्ष राहत पुगेको छ।
इन्धनको मूल्य घट्दा विभिन्न रुटहरूको भाडा ५५ रुपैयाँदेखि ३९० रुपैयाँसम्म घटेको छ। सबैभन्दा बढी कमी लामो दूरीका रुटहरूमा देखिएको छ। काठमाडौंबाट हुने उडानहरूलाई आधार मान्दा धनगढी गन्तव्यमा सबैभन्दा बढी २६५ रुपैयाँले भाडा घटेको छ।
यसैगरी काठमाडौंबाट सुखेत र माउन्टेन फ्लाइटमा २१०–२१० रुपैयाँ, नेपालगञ्जमा १९५ रुपैयाँ तथा भद्रपुरमा १८० रुपैयाँले कमी आएको छ। पोखरा केन्द्रित उडानहरूमा पनि उल्लेख्य राहत देखिएको छ। पोखरा–भद्रपुर रुटमा २४५ रुपैयाँ, पोखरा–धनगढीमा २०५ रुपैयाँ र पोखरा–जनकपुरमा १९० रुपैयाँले इन्धन शुल्क घटेको छ।
भैरहवा विमानस्थलबाट हुने उडानहरूमा भैरहवा–भद्रपुर रुटमा २६५ रुपैयाँ र भैरहवा–धनगढीमा १८५ रुपैयाँले कमी आएको छ। यस्तै, जनकपुर र विराटनगरजस्ता तराईका विमानस्थलहरूबाट लामो दूरीका उडानहरूमा पनि ठूलो राहत पुगेको छ।
समग्रमा सबैभन्दा बढी इन्धन शुल्क घट्ने मुख्य १० रुटहरू विराटनगर–धनगढी ः ३९० रुपैयाँ, नेपालगञ्ज–भद्रपुर ः ३५५ रुपैयाँ, जनकपुर–धनगढी ः ३३० रुपैयाँ, विराटनगर–नेपालगञ्ज ः ३२० रुपैयाँ सिमरा–धनगढी ः ३०५ रुपैयाँ, काठमाडौं–धनगढी ः २६५ रुपैयाँ, भैरहवा–भद्रपुर ः २६५ रुपैयाँ, जनकपुर–नेपालगञ्ज ः २७० रुपैयाँ, पोखरा–भद्रपुर ः २४५ रुपैयाँ र सिमरा–नेपालगञ्ज ः २४० रुपैयाँ घटेको छ।
छोटो दूरीका रुटहरूमा भने कमी कम देखिएको छ। काठमाडौं–सिमरा र पोखरा–सिमरामा ६०–६० रुपैयाँ, काठमाडौं–भरतपुरमा ६५ रुपैयाँ तथा जनकपुर–भैरहवामा मात्र ५५ रुपैयाँले इन्धन अधिभार घटेको छ।
यो मूल्य समायोजनले विशेषगरी पूर्व–पश्चिम जोड्ने तथा तराईका प्रमुख शहरहरूबीच यात्रा गर्ने यात्रुहरूलाई सबैभन्दा बढी फाइदा पुग्ने भएको छ। विमान कम्पनीहरूले यो परिवर्तनलाई टिकट मूल्यमा तत्काल समायोजन गर्दै गएकाले आन्तरिक हवाई यात्रा अब थप सस्तो र सहज हुने अपेक्षा गरिएको छ। इन्धनको मूल्यमा आएको यो राहतले नेपालको आन्तरिक हवाई यातायात क्षेत्रलाई थप गतिशील बनाउने विश्वास गरिएको छ।


